५ असोज, काठमाडौं ।

बडा दसैं सुरु भएको छ । असोज शुक्ल प्रतिपदाका दिन आज घरघरमा शक्तिकी अधिष्ठात्री देवी मानिने दुर्गाको आह्वान गरी घटस्थापना गरेसँगै नेपालीको सबैभन्दा लामो र महत्वपूर्व पर्व दसैं सुरु भएको हो । आज विधिपूर्वक राखिएको जमरा विजया दशमीको दिन प्रसादमा रुपमा ग्रहण गरिन्छ ।

असत्यमाथि सत्य र आसुरीमाथि दैवी शक्तिको विजय प्रतिकका रुपमा पन्ध्र दिनसम्म मनाइने वडा दसैं असोज शुक्ल प्रतिपदाका दिन घटस्थापनासहित जमरा राखेपछि सुरु हुन्छ । घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरेपछि शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वानमा पूजा सुरु गरिन्छ । नदी वा चोखो स्थानबाट बालुवा वा माटो ल्याई त्यसमाथि जौ रोपिन्छ । काठमाडौंको हनुमानढोका दरबारस्थित दसैं घरमा पनि ९ बजेर ४१ मिनेटको शुभसाइतमा घटस्थापनासँगै जमरा राखिएको छ ।

विजया दशमीका दिन टीका प्रसादसँगै दुर्गा देवीको प्रिय वस्तु मानिने जौको अंकुर अर्थात् जमरा लगाउने चलन छ । देशका विभिन्न भागमा कुल परम्परा र स्थान विशेषअनुसार जौसँगै अन्य अन्न पनि रोप्ने गरिन्छ । शास्त्रमा जमरालाई समृद्धिको प्रतीक र आयुर्वेदमा पौष्टिक वनस्पति मानिन्छ ।

घटस्थापनादेखि देखि नौ दिनसम्म जमरा राखिएको स्थान वा देवपीठमा दुर्गा सप्तसती चण्डी र भगवती स्तोत्र पाठ गरिन्छ । घटस्थापनाका दिन शैलीपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौ दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन बुद्धिदातृका रूपमा देवी भगवतीको पूजा–आराधना गरिन्छ ।

वडा दसैं असोज शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म पन्ध्र दिन धूमधामसँग मनाइन्छ । दसहरासमेत भनिने यो पर्व मनाउन कामको सिलसिलामा विभिन्न स्थानमा पुगेका पारिवारिक सदस्य जन्मघरमा जम्मा हुन्छन् ।