१५ भदौ, चितवन ।
नारायणगढ मुग्लिन सडक खण्डका ५ ठाउँमा पहिरो खसेपछि आज बिहानबाट सडक अबरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक दिपक थापाका अनुसार जलबिरेमा दुई स्थानमा, कालिखोला, चारकीलो र पाँच किलोमा एक /एक स्थानमा पहिरो खसेको छ ।

चार किलो भन्ने स्थानमा सडकको किनारमा केहि भाग भासिएको पनि थापाले बताए । पहिरो पन्छाए पछि पनि एक तर्फि मात्रै सडक संञ्चालन गर्न सकिने उनले बताए ।

चार किलोमा ठूलो पहिरो रहेता पनि अन्यन्त्र साना पहिरो रहेको उनले बताए । बिहानैबाट पहिरो पन्छाउने काम भईरहेकाले थप पहिरो नखसेमा केहि घण्टामा आवागमन संञ्चालनमा आउने थापाले बताए ।

पहिरोको जोखिमका कारण रातको समयमा सो सडकमा सवारी आवागमन रोकिदै आएको छ । आज बिहान ३:३० बजेको हाराहारीमा ती ठाउँहरुमा पहिरो खसेको प्रहरीको अनुमान छ ।