११ फागुन, काठमाडौं । सरकारले स्थानीय निकायको निर्वाचन घोषणा गरेलगत्तै गृह मन्त्रालय निर्वाचन लक्षित सुरक्षा योजना बनाउन जुटेको छ।

सशस्त्र प्रहरी बल मुख्यालयमा मंगलबार गृहसचिव लोकदर्शन रेग्मीसहित तीनवटै सुरक्षा निकायका प्रमुख सम्मिलित बैठकमा सरकारले ३१ वैशाखका लागि घोषणा गरेको स्थानीय निर्वाचन सफल बनाउन आवश्यक सुरक्षा योजनाबारे छलफल भएको थियो।

सुरक्षा बैठकमा भाग लिन गृहसचिवसहित तीनवटै सुरक्षा निकायका प्रमुख हलचोकस्थित सशस्त्र प्रहरी मुख्यालय पुगेका थिए। सशस्त्र प्रहरी प्रवक्ता दिवाकर केसीले स्थानीय निर्वाचन केन्द्रित सुरक्षाबारे बैठकमा छलफल भएको बताए।

बैठकमा गृहसचिव रेग्मीसहित नेपाल प्रहरीका निमित्त प्रहरी महानिरीक्षक डा. दिनेशचन्द्र पोखरेल, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक दिलीप रेग्मी सहभागी थिए। बैठकमा गृहसचिव रेग्मीले स्थानीय निकायको निर्वाचनलाई लक्ष्य गरी सुरक्षा योजना निर्माण गर्न तीनवटै सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएको स्रोतले बताएको छ।

बैठकमा तीनवटै सुरक्षा निकायका प्रमुखले आ-आफ्नो तर्फबाट मुलुकको पछिल्लो सुरक्षा अवस्थाबारे रिपोर्टिङ गरेका थिए। रिपोर्टिङका क्रममा एकै आवाजमा तीनै जना सुरक्षा प्रमुखले मधेसी मोर्चाको चुनावविरोधी आन्दोलन घोषणा र विखण्डनवादी समूह सिके राउतको क्रियाकलापले मधेसमा चुनाव गराउन चुनौतीपूर्ण हुन सक्ने बताएको स्रोतले जनाएको छ। बैठकमा निर्वाचन गराउन आवश्यक सुरक्षाकर्मीको संख्या अपुग भए म्यादी प्रहरीसमेत राख्नेबारे छलफल भएको थियो।

गृहसचिव रेग्मीले निर्वाचनका लागि के-कति सुरक्षाकर्मी आवश्यक पर्छ यकिन तथ्यांक जुटाउन सुरक्षा प्रमुखलाई निर्देशन दिएका थिए। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।