१६ वैशाख, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी जेठ ३१ गते स्थानीय तहको निर्वाचन सम्पन्न गरेर मात्र कांग्रेसका सभापति शेरबहादुर देउवालाई सरकारको नेतृत्व हस्तान्तरण गर्ने भएका छन् ।

सरकारले केही दिनमै जेठ ३१ मा नै एकै चरणमा निर्वाचन घोषणा गर्ने तयारी गरेको छ । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार चक्रपाणि खनालले स्थानीय तहको निर्वाचन सम्पन्न गरेर मात्र प्रचण्डले सरकारको नेतृत्व हस्तान्तर गर्ने बताए । सबै राजनीतिक दलहरुको सुझावको आधारमा प्रचण्डले एकै चरणमा निर्वाचन गर्ने तयारी गरेपनि कांग्रेस सभापति देउवाले दुई चरणमै निर्वाचन गर्न दबाब दिएका छन् ।

प्रचण्ड र देउवाबीच मधेसी मोर्चालाई सहमतिमा ल्याउने क्रममा वैशाख ३१ गते पहिलो चरणमा निर्वाचन सम्पन्न गरेर जेठको पहिलो साता सरकारको नेतृत्व देउवालाई दिने सहमति भएको थियो । तर संविधान संशोधन विधेयकको कारण निर्वाचनको मिति धकेलिने र प्रचण्डले निर्वाचनसम्म नै सरकारको नेतृत्व गर्ने तयारी गरेपछि देउवा तनाबमा परेका छन् ।

प्रचण्डका राजनीति सल्लाहकार खनालले नेपाली हेडलाइन्ससँग भने,‘कांग्रेससँग माओवादीले स्थानीय तहको निर्वाचन सम्पन्न गरेर मात्र सरकारको नेतृत्व गर्ने सहमति भएको हो, मंसिरमा निर्वाचन भयो भने पनि कांग्रेसले पर्खनु पर्छ ।’

उनले अब कुनै पनि हालतमा संसदमा पेश भएको संविधान संशोधन विधेयक पारित हुने दावी गरे । उनले भने,‘एमाले बिना नै दुई तिहाई बहुमतले संविधान संशोधन विधेयक पारित हुन्छ, अब एमालेले जति बल गरेपनि विधेयक पारित भएरै छोडछ ।’

यो पढ्नुस्:

देउवाको हुङ्कार, एमालेविनै दुइ तिहाइ पुर्याएर देखाउँछौं

गगन थापाले एमाले तर्फ इंगित गर्दै भने नक्कली ठेकेदार