६ चैत, काठमाडौँ । गृहमन्त्री माघवप्रसाद घिमिरेले आफ्नो भाग्य र भविष्य निर्माण गर्ने नयाँ संविधान बनाउने नेपाली जनताको उत्कट चाहनालाई निर्वाचनमार्फत पूरा गर्न वर्तमान सरकार लागिपरेको बताएका छन् ।
राष्ट्रिय दलित आयोगको ११ औँ वार्षिकोत्सव समारोहलाई आज ललितपुरमा सम्बोधन गर्दै उनले राजनीतिक सहमतिद्धारा गठन भएको वर्तमान सरकारले निर्वाचन सम्पन्न गर्ने अठोट व्यक्त गरेका छन् । उनले भने, ‘वर्तमान सरकार संविधानसभाको  निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित रुपमा सम्पन्न गर्न गठन भएको हो ।’
दलित अयोगलाई बलियो बनाउन जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन, २०६८ को नियमावली बनाउन आवश्यक भएको उल्लेख गर्दै उनले यस कार्यमा आफूले सहयोग गर्ने बताए ।
गृहमन्त्री घिमिरेले भने, ‘जातीय विभेद र छुवाछुत मानव अधिकार विरुद्धका कार्य भएकाले यसको अन्त्य हुनु आवश्यक छ ।’
सो अवसरमा उनले दलित आन्दोलनका क्षेत्रमा विशिष्ठ योगदान पुर्याएवापत आयोगका पूर्वअध्यक्ष पदमसिंह विश्वकर्मा, टेक ताम्राकार, धनसर विश्वकर्मा, रामरतन हरिजनलगायतलाई सम्मान गरेका थिए ।
आयोगका अध्यक्ष सुशिला सिर्पाली (ठकुरी) ले अयोगलाई बलियो बनाउन सरकारले सहयोग गर्नुपर्ने बताए ।