६ वैशाख, काठमाडौँ ।
नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले निर्धारित समयमा स्थानीय तहको निर्वाचन हुनेमा आफू बढी आशावादी भएको बताएका छन् ।

प्रगतिशील तथा पेसागत कानुन व्यवसायी सङ्गठन (पिपिएलए) ले यहाँ आज आयोजना गरेको स्थानीय तहको संरचना र निर्वाचन सम्बन्धमा छलफल कार्यक्रममा उनले आज प्रधानमन्त्री पुष्पकमल दाहालसहित प्रमुख राजनीतिक दलको बैठकपछि आफू निर्वाचन हुनेमा आशावादी भएको बताएका हुन ।

“बैठकमा प्रधानमन्त्रीले पटकपटक निर्वाचनका बारेमा कुनै आशङ्का नगर्न र निर्वाचन नभए मुलुक ठूलो दुर्घटनामा पर्छ”– भने। गृहमन्त्री विमलेन्द्र निधिले पनि निर्वाचनको सम्पूर्ण सुरक्षा व्यवस्था मिलाइसकेको बताए । उनले भने, “त्यसैले उहाँहरुको भनाइबाट म निर्वाचन हुनेमा आशावादी देखिएको छु ।”

बैठकमा मधेसी मोर्चा निर्वाचनमा सहभागिता जनाउँछन् भने बजेटपछि पनि निर्वाचन गर्न सकिने कुरा चलेको बताउँदै उनले भने, “वैशाख ३१ गते नै निर्वाचन हुन्छ । प्रदेश १ र २ मा पछि गरौँला भन्ने कुरा बेग्लै हो ।”

उनले नेत्रविक्रम चन्द, सिके राउत, मधेसी मोर्चा, विभिन्न जनजाति र साना हतियारधारीबाट निर्वाचनमा धम्की आउनसक्ने भन्दै त्यस चुनौतीलाई सामना गर्न सुरक्षाकर्मी तयार रहेको धारणा राखे ।

एमाले महासचिव ईश्वर पोखरेलले एमालेले जित्ने वा हार्ने भन्दा पनि संविधानको प्रभावकारी कार्यान्वयनका लागि निर्वाचन आवश्यक भएको बताए । उनले अझै पनि निर्वाचनलाई सके सार्ने नसके टार्ने खेल भइरहेको भन्दै निर्वाचन नहुँदा देशमा कालो बादल मडारिने चेतावनी दिए ।

उनले संविधान जारी नगरौँ भन्ने पक्षले अहिले संशोधन गर्न खोजिएको उल्लेख गदै कुनै पनि हालतमा संविधान संशोधन नहुने दाबी गरे । एमाले सचिव गोकर्ण विष्टले संविधानको कार्यान्वयनका लागि तीनै तहको निर्वाचन निर्धारित मितिमा गर्नुपर्ने बताए ।

कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य रधुजी पन्त, नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष शम्भु थापा, विश्वकान्त मैनालीले लोकतन्त्रको अभ्यासको आधारशीला स्थानीय तह भएकाले जनताको अधिकार स्थापित गराउनका लागि निर्वाचन गर्नुपर्ने बताए । रासस