३१ चैत, काठमाडौं ।

नेपाली पात्रो अनुसार भोली अर्थात वैशाख १ गतेलाई नयाँ वर्षको सुरुवात मानिन्छ । नयाँ वर्षको अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गर्ने गरिन्छ, विशेषगरी युवापुस्ता ‘न्यु इयर’, ‘न्यु इयर इभी’ भन्दै आजै बेलुका देखि घुमघाम र रमाइलो गर्ने गर्छन् ।

नेपाल लगायत विक्रम संवत मान्ने अन्य देशमा वैशाख १ गतेका दिन नयाँ वर्ष मान्ने गर्दछन् भने इस्वी संवत मान्ने स्थानमा जनवरी १ को दिन नयाँ वर्ष मनाइन्छ ।

वैशाख १, संस्कृत संक्रान्तिबाट आएको हो। यो मध्य अप्रिलमा पर्दछ भने कम्वोडिया, श्रीलंका, लाओस र तामीललगायतका क्षेत्रमा यो पर्व अर्थात नयाँ वर्ष मनाइन्छ । यसैगरि नेपाललगायत म्यानमार र भारतका केहि स्थानमा नयाँ वर्ष मनाइदै छ । भारतमा यसलाई विशु पर्व भनिन्छ भने म्यानमारमा ‘थिंग्यान’ भनिन्छ ।

करिब पाँच दिनसम्म मनाइने यो पर्व म्यानमारमा विशेषगरि बुद्ध धर्मावलम्बीहरुले मनाउने गर्दछन् । बर्मीज क्यालेण्डर अनुसार निर्धारण गरिने नयाँ वर्षको सुरुवात पानी दिवससंगै हुने गर्दछ । सोहि अवसरमा पानीको फोहोरासंगै खेल्ने , साथीभाइसंग रमाउने, बुद्ध भगवानको आराधना गर्ने तथा ब्रत बसेर धुमधामका साथ नयाँ वर्ष मनाउने गर्दछन् ।

नयाँ वर्षको अवसरमा १ हजार ८ सय ८३ कैदी रिहा

विहिवारबाट सुरु हुने पानी पर्वको लागी म्यानमार सरकारले १ हजार ८ सय ८३ जना कैदीलाई बुधवार रिहा गरेको समाचार छ ।

बुधवार रिहा गरिएका ति व्यक्तिमध्ये २ सय ३३ महिला रहेका छन् । कैदबाट मुक्त गरिएका ति व्यक्तिलाई बाकी कारावासको सजायबाट मुक्त गरिनुका साथै नयाँ वर्षमा रमाउने अवसर दिलाउने आशय रहेको बताइएको छ ।

‘नेसनल लिग फर डेमोक्रेसी’सँग आबद्ध सरकारले देशको शासन सम्हालेयता यस प्रंकार केैदी मुक्त गरिएको यो दोस्रो पटक हो । यसअघि गत वर्ष १३८ जना आस्थाका बन्दीसहित २ हजार २८३ जना कैदी मुक्त गरेको थियो ।