३ भदौ, काठमाडौं ।

ज्योतिको घर–नेपाल (लाईट हाउस फाउण्डेशन नेपाल)ले स्विडिस एनजिओ लभ नेपाल (पछि नाम परिवर्तित गरी लभ एण्ड होप) ले सामाजिक कार्यको नाममा गैरकानुनी तथा गलत धन्धा चलाएर करोडौं रकम कुम्ल्याएको आरोप लगाएको छ ।

ज्योतिको घर–नेपालले दाबी गरेको छ कि उक्त संस्थाले नाटकीय ढंगले करिब ६ सय नेपाली चेलीहरुलाई भारतको बेश्यालयबाट उद्धार गरेको र ९ सय चेलीवेटीहरुको लागि घर समेत सञ्चालन गरिरहेको भनेर हल्ला चलाएको थियो ।

त्यस्तै उक्त संस्थाले सोसल मिडियाहरुमार्फत स्विडिस नागरिक, संघसंस्था तथा अन्य देशहरुसँग समेत सहयोगको लागि आग्रह गरेको र सोही अनुसार चार मिलियन अमेरिकी डलर संकलन समेत गरेको जनाएको छ ।

रिपोर्टर्स क्लब नेपालमा ज्योतिको घर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै स्वेडिस अधिवक्ता एनेली वेष्टरले भनिन्, “लभ एण्ड होपको नेपालमा कुनै घर छैन र तीनीहरुले अहिलेसम्म कोही पनि बच्चाहरुको उद्धार गरेका छैनन् । बास्तवमा तीनीहरुले ज्योतिको घर नेपाललाई स्पोन्सर गरेका हुन, जसले सन् २००९ देखि नेपालमा बच्चाहरुको लागि गृह सञ्चालनमा ल्याईरहेको छ र बेश्यालयबाट पनि चेलीहरुको समेत उद्धार गरेको छ ।”

उनले अघि थपिन, “नेपालमा बसिररहेको बेला तीनीहरुले गलत गतिविधिहरु गरिरहेका थिए, जस्तो बच्चाहरुको फोटो लिने र वृत्तचित्रहरु बनाउने यी सबै बच्चाहरुको हित विपरितका कार्यहरु हुन्।”

वेष्टरका अनुसार संकलित जम्मा रकममध्येबाट ३ लाख ८० हजार अमेरिकी डलरमात्रै संस्थामा पुगेको थियो । आयोजकका अनुसार लभ र होप नामक संस्था स्विडिस नागरिकद्धय माईकल आल्फ्भेन र उनकी श्रीमती ईंक म्यारी आल्फ्भेनले सञ्चालन गरेका थिए ।

ज्योति घर नेपालका अध्यक्ष विजय लामाले भने, ‘स्विडिस दम्पत्तिले नेपाल आउँदा आर्थिक रुपमा बच्चाहरुलाई सहयोग गर्ने ईच्छा देखाएका थिए, फलतः हामी पनि उनीहरुसँग सम्झौता गर्न बाध्य भयौं र आर्थिक सहयोग प्रयोग गरेर संस्था चलाउनको लागि हामीले सम्झौता गर्यौं ।’

केही समयपछि ती दम्पत्तिहरु आफूहरुलाई कुनै जानकारी नै नदिईकन स्वदेश स्विडेन फर्किएको जानकारी दिँदै लामाले भने,“उनीहरुसँग हामीले धेरैपटक सम्पर्क गर्ने कोशिश गर्यौं, तर हाम्रो प्रयास सफल हुन सकेन्।”

ज्योतिको घर नेपालले प्रहरीसमक्ष लभ एण्ड होपका चार कामदारहरुको बारेमा विभिन्न अपराध जस्तो संयुक्त राष्ट्रसंघको चिल्ड्रेन कन्भेन्सन उल्लंघन गरेको, धेरै बच्चाहरुको सेक्सुयल हा«समेन्ट, साईवर क्राईम(बच्चाहरुको फोटो सोसल मिडियाहरुमा प्रयोग गर्नु र ज्योतिको घर नेपाललाई आफ्नै संस्था हो भनेर प्रस्तुत गर्नु, यहाँका कर्मचारी, बच्चाहरु र कामदारहरुलाई विना लिखित सम्झौता आर्थिक सहयोग उठाउने कार्यमा प्रयोग गर्नु रहेको थियो ।