२ कात्तिक, बैतडी । सीमा प्रहरी चौकी झुलाघाटले बुधबार चेकजाँच गर्ने क्रममा नेपाल—भारत सीमा नाका झुलाघाटको झोलुंगे पुलमा विभिन्न व्यक्तिले लुकाइछिपाइ नेपाल भित्र्याउँदै गरेका पटाका बरामद गरेको छ ।

बरामद गरिएको पटाकामा मुर्गाछाप पटाका १९९ थान, गैँडा छाप पटाका १३ दर्जन, बम पटाका चार दर्जन र झिरझिरे ३७ पाकेट रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक शर्माले जानकारी दिए ।

बरामद गरिएका पटाकालाई बुधबार स्थानीय प्रशासन र पत्रकारको रोहबरमा नष्ट गरिएको छ । बैतडी प्रहरीले तिहारलाई लक्षित गर्दै नेपाल—भारत सीमानाकामा चेकजाँचमा कडाइ गर्नुका साथै पटाका आयातमा रोक लगाएको छ ।

यसका साथै पटाका पड्काउने, पड्काउन उक्साउने, बिक्री गर्ने र ओसारपसार गर्ने सबैलाई कारबाहीको दायरामा ल्याइने समेत उनले बताए ।