kp-oli२६ फागुन, विराटनगर । नेकपा एमालेको स्थायी समिति सदस्य केपी शर्मा ओलीले नैतिक र संवैधानिक हैसियत गुमाएको वर्तमान सरकार चाडै हट्ने बताएका छन् । उनले मुलुकको अवस्थालाई सहज बनाउन मुख्य राजनीतिक दलहरुको शनिवारको छलफल सहमतिमा पुग्ने विश्वास व्यक्त गरेका छन् ।
मोरङको विराटनगर विमानस्थलमा शनिवार बिहान पत्रकारहरूसँगको कुराकानीमा ओलीले संविधान सभाको निर्वाचनका लागि पनि वर्तमान सरकार हट्ने र प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार बन्ने बताए । उनले प्रधानन्यायाधीश नेतृत्वको सरकारमा दलका प्रतिनिधि सहभागी नहुँने स्पष्ट पारेका छन् । लोकतन्त्र नरहे न्यायालय पनि स्वतन्त्र नरहने दाबी गर्दै ओलीले लोकतन्त्र स्वतन्त्र न्यायालयका लागि पनि निर्वाचन जरुरी रहेको बताए ।
सकेसम्म छिटो निर्वाचन गर्ने प्रक्रियामा रहेको राजनीतिक दलहरुले साना दलहरुलाई पनि सहमतिमा ल्याउने ओलीले दाबी गरेका छन् । रासस