८ वैशाख, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेता रामबहादुर थापाले गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशी समानुपातिक प्रतिनिधित्वलगायतका परिवर्तनका एजेण्डालाई संस्थागत गर्न पनि स्थानीय तहको निर्वाचनमा विजयी हुनुपर्ने बताएका छन ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा स्थानीय तहको निर्वाचन परिचालन समितिले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले परिवर्तनको एजेण्डा संस्थागत गर्ने कि नगर्ने भन्ने विषय यतिखेरको प्रमुख दायित्व रहेको बताए ।

गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षताजस्ता उपलब्धि आफ्नै पार्टी नेतृत्वमा भएको उल्लेख गर्दै उनले त्यसलाई संस्थागत गर्न पनि तीनवटै तहको निर्वाचनमा आफ्नो पार्टी विजयी हुनैपर्ने तर्क गरे ।

उनले घरघरमा गएर निर्वाचनको प्रचार अभियानमा पार्टी नेता कार्यकर्तालाई निर्देशन दिए । उनले जनतासँग एकाकार भएरमात्रै निर्वाचनमा विजयी हुन सकिनेतर्फ पनि पार्टी कार्यकर्तालाई सचेत गराए । सिंहदरबारको अधिकार गाउँगाउँमा पु-याउन पनि आफ्नो पार्टी नेतृत्वको सरकारले स्थानीय तहको निर्वाचन सम्पन्न गराउन लागिपरेको बताए ।

आफ्नो पार्टी नेतृत्वको सरकारले मुलुकभर विद्युत्भार कटौतीको अन्त्य गरेको, २५ वर्षपछि सबैभन्दा बढी आर्थिक वृद्धि यसैपटक मात्रै भएको, आर्थिक विकास र विस्तारको प्रक्रिया सुरु भएको तथा नागरिकले राज्यबाट सहज रुपमा सेवा पाउने अवस्था सिर्जना भएको बताए ।

कार्यक्रममा विभिन्न पार्टीबाट २०० बढी नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका थिए । नवप्रवेशीलाई नेता थापाले पार्टीमा स्वागत गरेका थिए । कार्यक्रममा नेता लीलामणि पोखरेल, प्रवक्ता पम्फा भुसाल लगायतको उपस्थिति थियो । रासस