मोहिनी मिश्र रिसाल

१२ भदौ, काठमाडौं ।
विश्वको शक्ति राष्ट्र मानिएको र लगभग विश्व राजनीतिमा सधैँ चर्चाको शिखरमा रहने देश संयुक्त राज्य अमेरिकामा यतिखेर एउटा नयाँ विषयको खुब ठूलो बहस चलेको छ– के अब अमेरिकाले महिला राष्ट्रपति पाउला त भनेर ।

सन् २०१६ को नोभेम्बरमा अमेरिकामा नयाँ राष्ट्रपति पदको लागि निर्वाचन हुन गइरहेको छ । अमेरिकाको ४५ औँ राष्ट्रपतिको लागि सो निर्वाचन हुन लागेको हो । अमेरिकी राष्ट्रपतिको यस निर्वाचनको प्रतिस्पर्धामा एक जना महिला नेत्री पनि रहेकोले अहिलेको अमेरिकामा यो नयाँ विषयले चर्चा पाएको हो ।

हुनत अमेरिकी राष्ट्रपतिका हरेक निर्वाचनमा कुनै न कुनै नयाँ एजेन्डा हुन्छ र नयाँ विषयले चर्चा पनि पाउछ । तर यस पटकको निर्वाचनको चर्चा भने यसभन्दा अघिल्लाहरुको भन्दा फरक खालको छ र उम्मेदवारको लिङ्गीय विषयले यसपालि चर्चा पाएको छ ।

19th International AIDS Conference Convenes In Washington

आगामी अर्थात अमेरिकाको ४५ औँ राष्ट्रपतिका लागि हुन गइरहेको यस निर्वाचनमा पूर्व विदेशमन्त्री हिलारी रोधम क्लिन्टन पनि उम्मेदवार रहनु भएको छ । त्यसो त यसअघिका निर्वाचनहरुमा पनि राष्ट्रपतिका लागि महिलाहरुले उम्मेदवारी नदिएका भने होइनन् । तर यसअघिका उम्मेदवारीहरुको तुलना यस पटकका प्रतिस्पर्धीसँग भने गर्न मिल्दैन । किनभने यस पटकका उम्मेदवार क्लिन्टन अमेरिकी राजनीतिमा एक शक्तिशाली महिला हुन् ।

महिला समानता, लैंगिक समानता तथा नारी अधिकारका साथै मानवअधिकारका बारेमा विश्वलाई नै पाठक पढाउने अमेरिकाले अहिले सम्म महिला राष्ट्रपति पाउन नसकेको चर्चा पनि यसैसँग अमेरिकामा सुरु भएको छ । कतिपय विश्लेषकहरु भन्छन्– कयौं अविकसित तथा तेस्रो विश्वका राष्ट्रहरुलाई कार्यकारी प्रमुखका रुपमा महिलाले हाँकिसकेका छन् तर हामीलाई त्यो अवसर अझै प्राप्त भएको छैन ।

विश्वको एक प्रमुख शक्तिराष्ट्रको रुपमा परिचित रहेको यस देशको राष्ट्रपति पदमा हालसम्म एक जना पनि महिला आउन सकेका छैनन् । यद्यपि भारत, दक्षिण कोरिया, अल्जेरिया, ब्राजिललगायत विश्वका कैयन् ठूला साना राष्ट्रहरुमा महिलालाई राष्ट्रपति बन्ने अवसर प्राप्त भइसकेको छ ।

संयुक्त राज्य अमेरिकाका ४२ औं राष्ट्रपति बिल क्लिन्टनकी धर्मपत्नी तथा सन् १९९३ देखि २००१ सम्म अमेरिकी प्रथम रहेकी हिलारी समाज सेवामा ब्यस्त रही आफ्नो निजी जीवनलाई सन्तुलित बनाई ख्याति आर्जन गर्न सक्ने महिलाको रुपमा पनि परिचित हुनुहुन्छ ।

उहाँ सन् २००० को नोभेम्बर ७ मा संयुक्त राज्य अमेरिकाको न्युर्योक राज्यको सिनेटरका रुपमा निर्वाचित हुनुभएको थियो । वास्तवमा अमेरिकी सक्रिय राजनीति उहाँको यही पदसँगै सुरु भएको हो । उहाँ सन् २००१ देखि २००९ सम्म न्युयोर्क राज्यको सिनेटरका रुपमा रहुनभयो । यसरी लामो समयसम्म यस पद सम्हाल्नेमा उहाँ अमेरिकाको एकजना प्रभावशाली महिला नेत्रीको रुपमा पनि परिचित भई अमेरिकी नागरिकमाझ प्रसंशा पाउनु भएको थियो ।

त्यसपछि, वर्तमान राष्ट्रपति बाराक ओमाबाको पहिलो कार्यकाल अर्थात् सन् २००९ को जनवरी २१ मा अमेरिकी विदेशमन्त्रीको जिम्मेवारी पाई सन् २०१३ सम्म त्यसलाई उत्कृष्टतापूर्वक बहन गर्न सफल हुनु भएको थियो । पदीय दायित्वका हिसाबले अमेरिकी विदेशमन्त्रीको पद अत्यन्त जटिल र चतुरताका साथ सम्हाल्नु पर्ने र मर्यादाका हिसाबले यस पदले अन्य भन्दा सदैब उच्च स्थान ओगट्ने गरेको छ ।

तथापि एक महिलाले सहजरुपले यस्तो चुनौतिपूर्ण जिम्मेवारी निर्वाह गरी अमेरिकाको ६७ औं बिदेश मन्त्रीको पदभार उत्कृष्टतापूर्वक सम्हाली क्लिन्टनले जनताको मनग्य माया र हौसला पनि हासिल गर्नु भएको थियो । उहाँको त्यस समयको व्यस्तता देख्दा अमेरिकी जनताले उहाँको निकै प्रसंशा पनि गरेका थिए ।

अमेरिकी राष्ट्रपति बाराक ओबामाले पनि पटक पटक उहाँको मेहनेतबाट आफ्नो सफलता प्राप्त भएको टिप्पणी पनि गर्नुभएको थियो । सार्वजनिक रुपमा नै उहाँले यो अभिव्यक्ति दिनुभएको हो ।

उक्त पदमा आसिन रहेका बेला उहाँले मानवअधिकारका साथसाथै महिला अधिकारका लागि अमेरिकी नेतृत्वदायी भूमिकामा रही सशक्त वकालत गर्नुभएको थियो । यसका लागि उहाँले विश्वभार ख्याति पनि आर्जन गर्नुभयो र यिनी एजेन्डाहरुमा विश्वका कयौँ देशमा पनि पुग्नुभयो । उहाँ विदेशमन्त्रीको पदमा रहनु भएको अवस्थामा अमेरिकी इतिहासलाई नै तोड्ने विदेशमन्त्रीको हैसियतले विदेश भ्रमण गरी त्यहाँको समस्या सुल्झाउने कार्यका लागि अनेकन प्रयास गर्नुभएको थियो ।

त्यसो त अमेरिकी वर्तमान राष्ट्रपति बाराक ओबामाकै पहिलो कार्यकालका लागि हुन लागेको निर्वाचनमा नै उहाँ डेमोक्र्याटका तर्फबाट उम्मेदवार बन्नुभएको हो । तरपनि अमेरिकाले सायद कालो वर्णका बाराक ओबामालाई सो समयका लागि अघि बढाएपछि उहाँलाई फिर्ता हुन भनियो । त्यसपछि पहिलो कार्यकालमा राष्ट्रपति बाराक ओबामाले उहाँलाई विदेशमन्त्री बनाउनुभएको थियो ।

बाराक ओबामाको पहिलो कार्यकालमा उहाँले ओबाको हरेक विदेश नीतिको समर्थन मात्र होइन कि त्यसलाई सफल बनाउने काममा पनि निकै प्रयत्नरत रहनुभयो । अफगानिस्तानमा नेटो सेनाको निरन्तरता, लिबियामा कर्णेल गद्दाफि माथिको कारबाही, मध्यपूर्वी राष्ट्रहरुको प्रजातन्त्रका लागि भएको आन्दोलनमा समर्थन, अल कायदाका नेता ओसामा बिन लादेनमाथिको कारबाहीलगायतका यस्ता कयौँ अमेरिकी नीतिमा हिलारीको राम्रो समर्थन र सहयोग रहेको थियो । त्यसैले पनि उहाँलाई अमेरिकी

आगामी निर्वाचनमा उहाँ प्रजातान्त्रिक पार्टीका तर्फबाट उम्मेदवार हुने निश्चितजस्तो देखिन्छ, यद्यपि पार्टीले निर्णय गरिसकेको भने छैन । उहाँले आफ्नो निर्वाचन अभियानको सुरुवात भने गरिसक्नुभएको छ । तर अभियानकै क्रममा पनि उम्मेदवारी पक्कागर्ने केही औपचारिकताहरु बाँकी नै छन् र तिनमा उहाँको सफलता लगभग पक्काजस्तो नै छ ।

उहाँका यी दायित्वहरु बाँकी नै रहेको भएपनि अमेरिकाजस्तो विश्व राजनीतिमा आफूलाई सधैँ अब्बल दर्जामा राख्न चाहने देशले पहिलो महिला राष्ट्रपति पाउने यस अवसरलाई भने अवसरकै रुपमा प्राप्त गर्नेछ भन्ने अनुमान धेरैले गरिरहेका छन् । रासस÷विभिन्न एजेन्सीहरुको सहयोगमा