२ माघ, काठमाडौं । कार्यबाहक प्रधानमन्त्री विमलेन्द्र निधिले भूकम्पको पुनःनिर्माणको कामलाई सरकारले तीव्रता दिने बताएका छन ।

काठमाडौँ महानगरपालिकाले आज ‘१९औं भूकम्प स्मृति दिवस’का अवसरमा आयोजना गरेको श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्दै पुनःनिर्माणको कामलाई तीव्रता दिनका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमा नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त गरिएको बताए ।

उनले भूकम्पबाट जोगिनका लागि जनचेतनामूलक कार्यक्रम आवश्यक रहेको औँल्याए ।

फाइल तस्बिर

फाइल तस्बिर

कार्यक्रममा सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले २०७२ सालको भूकम्पमा ठूलो मानवीय र भौतिक क्षति व्यहोर्नुपरेको भन्दै सबैले घर बनाउँदा भवन निर्माण आचारसंहिता पालना गर्नुपर्नेमा जोड दिए ।

उनले सबै स्थानीय तहमा सरकारले भवन आचारसंहिता लागू गरेको जानकारी गराउँदै आचारसंहिता पालना नगर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए ।

महानगरपालिकाका निमित्त कार्यकारी अधिकृत सनतकुमार थापाले आफूहरुले निजी घरसँगै सरकारी घरलाई पनि भवन निर्माण आचारसंहिताको दायरमा ल्याएको बताए ।

आज देशभरि नै ‘भूकम्पपीडितको सुरक्षाको आधार, भुइँचालो थाम्ने घर र पूर्वाधार’ भन्ने नाराका साथ १९औँ भूकम्प स्मृति दिवस मनाइँदै छ ।

सरकारले विसं १९९० माघ २ गते महाभूकम्प गएको सम्झनामा केही वर्षयतादेखि भूकम्प स्मृति दिवस मनाउँदै आएको छ । रासस