एजेन्सी । पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरीफविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ । भ्रष्टाचारको आरोप लागेका शरीफ आज अदालतमा उपस्थित हुनुपर्ने थियो ।

तर उनी अदालतमा हाजिर नभएपछि न्यायाधीश मोहम्मद बशीरले पक्राउ गर्न आदेश दिंदै सरीफका वकिलले दायर गरेको अदालतमा पेशीलाई लिएर छुट दिन माग गरिएको रीट निवेदन समेत खारेज गरिदिएको पाकिस्तानको डन न्यूजले उल्लेख गरेको छ ।

सरीफका वकिलले शरीफ आफ्नी पत्नीको उपचारका लागि लन्डन गएको बताउनुभएको बताएका थिए । अदालतले आगामी नोभेम्बर ३ मा अर्को सुनुवाई तोकेको छ । पाकिस्तानको कानुन अनुसार अर्को सुनुवाई अघि अग्रिम जमानत नपाए सरीफलाई विदेशबाट फर्किएलगत्तै पक्राउ गरिनेछ ।

गत जुलाईमा पाकिस्तानको सर्वोच्च अदालतले भ्रष्टाचारको आरोप लागेका शरीफलाई प्रधानमन्त्री पदका लागि अयोग्य ठहर गरेको थियो । शरीफसँगै उनकी छोरी मरियम नवाज र ज्वाँई क्याप्टेन मोहम्मद सफदरमाथि भ्रष्टाचारको आरोप लगाईएको छ ।