१८ असोज एजेन्सी । पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरीफ पुनः सत्ताधारी पाकिस्तान मुश्लिम लिग–नवाज (पिएमएल–एन)को प्रमुखमा सर्वसम्मत निर्वाचित भएका छन। स्रोत नखुलेको अधिक सम्पत्ति थुपारेको भन्दै अदालतको आदेशअनुसार पाकिस्तानी प्रधानमन्त्रीबाट राजिनामा दिएका नवाज शरीफ पुनः सत्ताधारी पाकिस्तान मुश्लिम लिग–नवाज (पिएमएल–एन)को प्रमुख भएका हुन ।

पाकिस्तानका राष्ट्रपतिले निर्वाचन नीतिमा सुधार गर्नेसम्बन्धि विधेयकलाई स्वीकृत गरेको ठीक एक दिन पछि सरीफ पार्टी प्रमुख बनेका हुन ।

पिएमएल–एनका निर्वाचन आयुक्त चौधरी जफार इकवालले सरीफको विरुद्धमा कुनैपनि उम्मेदवारी नपरेपछि पूर्व प्रधानमन्त्रीलाई नै पार्टी अध्यक्ष भएको घोषणा पिएमएल–एनको सामान्य परिषद् बैठकमा गरेका हुन । बैठकमा उक्त दलका प्रादेशिक तथा राष्ट्रिय सभाका गरी ५०० भन्दा बढी संसद सदस्यको उपस्थिति रहेको थियो । पाकिस्तानको निर्वाचन आयोगले सरीफ पिएमएल–एनको अध्यक्ष भएको औपचारिक घोषणा गर्नेछ ।

सरीफमाथि लागेको भ्रष्टाचार आरोपपछि यही बर्षको जुलाईमा उनी प्रधानमन्त्री हुन अयोग्य भएको पाकिस्तानी सर्वोच्च अदालतले घोषणा गरेको थियो । पाकिस्तानको निर्वाचनसम्बन्धि कानून अनुसार राज्यको तत्कालिन कानूनले अयोग्य मानेको व्यक्तिले कुनैपनि दलको सदस्य वा पार्टी प्रमुख हुन नपाउने प्रावधान बमोजिम उहाँले पिएमएल–एनको अध्यक्ष पदबाट पनि राजिनामा दिएका थिए ।