२ मंसिर, कुबिण्डे (सिन्धुपाल्चोक) । पहिलो चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिएसँगै सिन्धुपाल्चोकमा चुनावी रौनक बढ्दै गएको छ ।

जिल्लाको दुई क्षेत्रमध्ये प्रतिनिधिसभा क्षेत्र नं १ मा वाम गठबन्धनका तर्फबाट पूर्व सञ्चारमन्त्री अग्निप्रसाद सापकोटा र लोकतान्त्रिक गठबन्धनबाट सञ्चारमन्त्री मोहनबहादुर बस्नेत चुनावी प्रतिष्पर्धामा भएकाले पनि अहिले यो क्षेत्र विशेष चर्चामा छ ।

चुनाव आउन १० दिन मात्र बाँकी हुँदा चोक चोक र चिया पसलमा मतदाताबीच मतको अंकगणीय लेखाजोखासमेत हुन थालेको देखिन्थ्यो ।

निर्वाचन नजिकिएसँगै उम्मेदवारद् भने बौद्धिक बहस र विकासे एजेण्डामा भन्दा एकअर्काप्रति आक्रामक शैलीमा प्रचारमा व्यस्त छन। अहिले दुवै उम्मेदवारले एक अर्कालाई भ्रष्टाचारीका चेलासमेत भन्न भ्याइसकेका छन । एक अर्कालाई गाली गरेरै मतदातालाई आकर्षित गर्न उनीहरु भड्किलो प्रचार शैलीमा छन ।

सापकोटा २०६४ को पहिलो संविधानसभा तथा दोस्रो २०७० मा सिन्धुपाल्चोक २ बाट निर्वाचित हुन भने बस्नेत २०५६ को आम निर्वाचन तथा २०७० को दोस्रो संविधानसभा निर्वाचनमा सिन्धुपाल्चोक १ बाट निर्वाचित हुन । अहिले निर्वाचन क्षेत्र गाभिएसँगै दुवै नेता पहलिो पटक आमने सामने भएका हुन ।

सजिलो छैन बस्नेतलाई

बस्नेत सिन्धुपाल्चोकमा निक्कै परिचित छन् । बस्नेतको तुलनामा सापकोटा कम परिचित छन् । यसअघिका दुईवटा संविधानसभा निर्वाचनमा सापकोटाले प्रतिनिधित्व गर्दै आएको तत्कालीन क्षेत्र नं. २ को आधा भूगोल मात्र अहिले यो क्षेत्रमा मिसिएको हुँदा आधा भूभागले उनलाई खासै चिन्दैन ।

तर, स्थानीय चुनावमा वडाध्यक्षले प्राप्त गरेको मतलाई आधार मान्ने हो भने यहाँ वाम गठबन्धन निकै बलियो छ । भोटेकोसी, लिसंखुपाखर, बलेफी, जुगल, त्रिपुरासुन्दरी, सुनकोसी गाउँपालिका, बाह्रबिसे र चौतारा नगरपालिका–२, ३, ४, ९ र १० वडा समेटिएको यो क्षेत्रमा वाम गठबन्धनसँग ४४ हजार ७६ मत छ । एमालेले २४ हजार १८८ र माओवादी केन्द्रले १४ हजार ३८८ मत ल्याएको थियो ।

लोकतान्त्रिक गठबन्धनका पक्षमा भने ३० हजार ५५५ मत देखिन्छ । स्थानीय निर्वाचनमा कांग्रेसले २१ हजार ६२९ र राप्रपाले आठ हजार ९२६ मत पाएको तथ्यांक छ । यसरी हेर्दा लोकतान्त्रिकको तुलनामा वाम गठबन्धनसँग अझै १३ हजार ५२१ मत बढी छ । त्यसकारण पनि चर्चामा रहेका बस्नेतलाई चुनाव जित्न सजिलो छैन ।

मन्त्री बस्नेत भने यो मान्न तयार छैनन। उनले भने , ‘विकासका हिसाबले मैले धेरै काम गरेको छु, मेरो जित सुनिश्चित छ ।

जिल्लामा बस्नेत छैटौँ पटक र सापकोटा चौथौपटक चुनावी युद्धमा छन । तर, दुईबीचको चुनावी भीडन्त भने पहिलो हो ।

‘यसपटक बस्नेतको जित सुनिश्चित छ’ नेपाली कांग्रेसका क्षेत्रीय सभापति टंकबहादुर कार्कीले भने , ‘सापकोटालाई एमालेको भर छ । सबै एमाले कार्यकर्ताले भोट नहाल्न पनि सक्छन् । यो क्षेत्र बस्नेतको पकेट क्षेत्र हो । त्यसैले जित पक्का छ ।’

गठबन्धनका कारण जित सुनिश्चित

यसैगरी उम्मेदवार सापकोटाले भने , स्थानीय तहको मतको विश्लेषण गर्दा पनि हामी १० देखि १५ हजार मतान्तरले जित्छौँ । हाम्रो जित सुनिश्चित छ ।

कुबिण्डेका बासिन्दासमेत रहेका सापकोटाले भने , बीस वर्षमा काँग्रेस कुबिण्डे पस्यो भनेर भन्नु प्रचारको शैली मात्र भएको उल्लेख गरे ।

उनले भने, कुबिण्डेमा पहिलो पटक काँग्रेस पस्यो भनेर अहिले जुन हल्ला फिजाइएको छ त्यो विल्कुलै गलत हल्ला हो , मओवादी शान्ति प्रक्रियामा आएपछि भएको पहिलो संविधानसभा २०६४ साल,दोस्रो संविधानसभा निर्वाचन २०७० र गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा समेत काँग्रेसले उक्त ठाउँमा प्रचार प्रसार गरेको र स्थानीय तह निर्वाचनमा उक्त वडामा माओवादीले एक हजार ६८ मत ल्याएर विजयी हुँदा काँग्रेसका उम्मेदवारले १२० मत प्राप्त गरेको छ, अहिले आएर यसो भन्नु राजनीतिक यो प्रपोगण्डा मात्रै हो ।

बिगतका निर्वाचनमै दलका नेता, तथा उम्मेदवारहरुले गरेको बाचा एउटै पूरा नभएपछि स्थानीयवासीमा आक्रोश छ । गाउँमा खानेपानीको समस्या छ, सिँचाइको सुविधा छैन स्थानीय सीता माझीले भन्नुभयो यसपालि हाम्रो वाचा पूरा गर्नेलाई भोट दिने हो । रासस