बासु सत्याल
२९ फागुन, बेजा, पोर्चुगल ।

आप्रवासी नेपालीहरुबीच सामाजिक सद्भाव र समन्वय कायम राख्ने उद्देश्यले पोर्चुगलमा फुटबल प्रतियोगिता आयोजना गरिएको छ । युनाइटेड ब्रदर्स नेपाली फुटबल क्लबले आयोजना गरेको सेभेन ए साईड फुटबल प्रतियोगितामा आयोजक सहित पोर्चुगलभरिका १० टिमको सहभागिता थियो ।२५ मिनेटको प्रतियोगिता लिग चरणका आधारमा खेलाईएको थियो । प्रतियोगिताको उपाधी भने एटलान्टिक अपर्च्युनिटि क्लबले जितेको छ । आयोजक समूह युनाइटेड ब्रदर्सलाई फाइनलमा १–० गोल अन्तरले पराजित गर्दै एटलान्टिक अपर्च्युनिटिले उपाधि जितेको हो ।

विजेताले ४०१ युरो तथा उपविजेताले २०१ युरो र ट्रफि हात पारेका छन् । युनाईटेड ब्रदर्सका राकेश गुरुङ उत्कृष्ट खेलाडी तथा जम्बुजिरा क्लबका हेम थापा सर्वाधिक गोलकर्ता घोषित भए ।

थापाले खेल अवधिभर ६ गोल गरेका थिए । दुबैलाई मेडलद्धारा सम्मान गरिएको थियो । खेल बेजाको मिलफन्तोसको ए डिभिजन मैदानमा भएको हो ।

प्रतियोगितामा युनाइटेड ब्रदर्स ‘ए’, एटलान्टिक अपर्च्युनिटी, साओतोतोनियो, लिस्बन युनाईटेड लिस्बन, टिम अफ ताभिरा, जम्बुजिरा ब्वाईज क्लब, लुङेरिया नेपाली टिम, युनाइटेड ब्रदर्स ‘बि’को सहभागिता थियो ।

प्रतियोगिताको मूल प्रायोजन नेपाली सोसियल एण्ड कल्चरल एसोसिएसनले गरेको थियो । कार्यक्रमलाई सफल बनाउन भुपेन्द्र एल डि ए, एट्लान्टिक अपर्च्युनिटी, मटिभोस अमगोज, ग्र्याब जव, अल गृन कम्पनी लगायत विभिन्न ब्यक्तिबाट पनि सहयोग प्राप्त भएको थियो । कार्यक्रमको सम्योजन युनाइटेड ब्रदर्सका बिजय गुरुङ गरेका थिए ।