२१ बैशाख, काठमाडौँ ।
प्रधानन्यायाधीश सुशीला कार्की्विरुद्ध आइतवार व्यवस्थापिका संसद् सचिवालयमा दर्ता भएको महाअभियोग प्रस्ताव आज संसदमा पेश हुँदैछ । संसदको बैठक आज दिउँसो ३ बजेका लागी बोलाइएको छ ।

कार्कीमाथिको महाअभियोग प्रस्ताव आजको बैठकको कार्यसुचिमा राखिएको संसद सचिवालयका प्रबक्ता भरतराज गौतमले जानकारी दिए । प्रबक्ता गौतमका अनुसार संसद् कार्य सञ्चालन नियमावलीको व्यवस्थाअनुसार संसदमा पेश भएको प्रस्तावमा आजको बैठकबाट सभामुख ओनसरी घर्तिले छलफलको मिति तोक्नेछिन ।

त्यसपछि सभामुखले तोकेको मितीमा कार्कीमाथिको महाअभियोग प्रस्तावमाथि संसदमा छलफल सुरु हुनेछ । संसदमा छलफलको प्रक्रिया सकिएपछि उक्त प्रस्ताव महाअभियोग सिफारिस समितिमा पठाइनेछ । महाभियोग सिफारिस समितिलाई बढीमा एक महिनाको समय रहनेछ । सो अबधिमा समितीले पक्ष बिपक्षबाट उजुरी लिने, सोधपुछ गर्ने, प्रमाण माग गर्ने गर्दछ । सिफारिस समितिको आवश्यक छानबिनपछि प्रतिवेदन पुनः संसदमा पेश हुनेछ ।

वैशाख १७ गते प्रधानन्याधीश कार्कीले कार्यपालिकाको क्षेत्राधिकार मिचेको लगायत ९ आरोप सहित सत्ता साझेदार दुई दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका दुई सय ४९ सांसदले हस्ताक्षर गरि महाअभियोग प्रस्ताव संसद् सचिवालयमा दर्ता गराएका थिए । कार्कीबिरुद्धको महाअभियोग प्रस्तावमा संसदमा मत बिभाजन हुने निश्चित छ ।

प्रतिपक्ष नेकपा एमाले सहितका अन्य अधिकांश दल यसको बिपक्षमा उभिएका छन । कांग्रेस र माओवादीभित्रै कतिपय नेताले यसको बिरोध गरेका छन । नेपालको न्यायिक इतिहासमा प्रधानन्यायाधीश तथा कुनै पनि न्यायाधीशमाथि महाभियोग दर्ता भएको घटना हो । यसअघि तत्कालिन अख्तियार प्रमुख आयुक्त लोकमानसिंह कार्कीले महाअभियोग बेहोरेका थिए ।