१४ भदौ, काठमाडौं।

प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक आज बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली काँग्रेस, नेकपा काँग्रेस र नेकपा माओवादी केन्द्रका शीर्ष नेताको बैठक बोलाएका हुन ।

फाइल तस्बिर

फाइल तस्बिर

बैठक विहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओली विदेशमा रहेकाले काँग्रेसबाट रामचन्द्र पौडेल र एमालेबाट कार्यवाहक अध्यक्ष बामदेव गौतम बैठकमा सहभागी हुनेछन् ।

बैठकमा स्थानीय तह पुनर्संरचनाका विषयमा छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोबिन्द आचार्यले जानकारी दिए ।

सरकारले आगामी चैत भित्र स्थानीय तहको चुनाव गर्ने बताएपनि स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदनप्रति दलहरु असन्तुष्ट छन् ।

त्यसअघि स्थानीय तहको पुनर्संरचनाबारे सत्ता पक्षको समान धारणा बनाउन प्रधानमन्त्री प्रचण्डले नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलसँग छुट्टै छलफल गर्दै छन् ।

विहान साढे ८ बजे हुने भेटमा सत्ता साझेदारका हैसियतले प्रधानमन्त्रीले स्थानीय तहको पुनर्संरचना र निर्वाचनका विषयमा समान धारणा बनाउन लागेको बताइएको छ ।

प्रमुख तीन दलको बैठकमा प्रधानमन्त्रीको भारत भ्रमणबारे पनि छलफल हुने प्रधामन्त्रीका प्रेस सल्लाहकार आचार्यले बताए । प्रधानमन्त्री प्रचण्डले भदौ ३० गतेदेखि भारतको चार दिने भ्रमण गर्दै छन् ।