९ साउन, काठमाडौं ।
काठमाडौं उपत्यकाको सवारी आवागमन चुस्त दुरुस्त बनाउन महानगरीय ट्राफिक प्रहरी महाशाखाले भ्यानमार्फत पनि सडक र सवारीको अनुगमन गर्ने भएको छ । मेट्रो ट्राफिक एफएमको पाँचौं वार्षिकोत्सवका अवसरमा काठमाडौं दिगो शहरी यातायात आयोजनाले महानगरीय ट्राफिक प्रहरीलाई २ वटा अत्याधुनिक निगरानी भ्यान हस्तान्तरण गरेको छ ।

काठमाडौं दिगो शहरी यातायात आयोजनाका निर्देशक अनन्त आचार्यले २ वटा अत्याधुनिक सुविधा सम्पन्न भ्यान महानगरीय ट्राफिक प्रहरी महाशाखाका निर्देशक प्रहरी नायव महानिरीक्षक मिङमार लामालाई हस्तान्तरण गरे । मेट्रो ट्राफिक एफएमको पाँचौं वार्षिकोत्सवका अवसरमा महानगरीय ट्राफिकलाई दिएका भ्यान अत्याधुनिक सुविधासम्पन्न छन् ।

कार्यक्रममा प्रहरी प्रमुख प्रकाश अर्यालले मेट्रो ट्राफिक एफएमले जनतालाई सुसुचित गर्ने कार्य गरेको भन्दै प्रसंसा गरेका थिए । उनले शहरी यातायात आयोजनाले प्रदान गरेको भ्यानमार्फत ट्राफिक व्यवस्थापनलाई चुस्त दुरुस्त राख्न पनि मद्धत पुग्ने बिश्वास व्यक्त गरे ।

भ्यानमा ३ सय ६० डिग्री एंगलमा घुम्ने पिटिजेट क्यामेरा जोडिएको छ । यी क्यामेरा चारैतिर घुम्न सक्छन् र डेढ किलोमिटरसम्मको दृष्य पनि उच्च गुणस्तरमा रेकर्ड गर्न सक्छन् । यस्तै भ्यान भित्रैबाट प्रहरीले राडार मेसिनको प्रयोगले गाडीको गति नाप्न सक्नेछन् । अहिलेलाई २ वटा मात्रै भ्यान भएकोले घुम्ती अनुगमन गर्ने र बिस्तारै भ्यानको संख्या बढाउने ट्राफिक प्रहरीले जनाएको छ ।