-कुशल श्रेष्ठ

प्रेम सम्बन्धमा सँधै आफूले सोँचेजस्तो र खोजेजस्तो परिस्थिति नआउन सक्छ, सँधै फेसबुकमा च्याट गर्न, फोन गर्न अनि सँधै भेट्न पनि गाह्रै हुन्छ। त्यसमाथि अझै दुवैजनाको धेरैजसो समय आफ्नो काम वा पढाइमा बित्छ, माहुरी जस्तै व्यस्त भइन्छ भने त्यो सम्बन्धमा खुड्किलो आउनु स्वाभाविक हो। तर सम्बन्ध भनेको यस्तो चीज हो जसको विकासमा तपाईँले पर्याप्त ध्यान दिनुभएन भने तपाईँको प्रेम घृणामा र विश्वास अविश्वासमा परिणत हुन समय लाग्दैन।couple together

अकस्मात, तपाईँ आफ्नो प्रेमी वा प्रेमिकालाई पहिले जस्तै बुझ्न सकिराको छैन भन्ने सोच दिमागमा आयो भने बुझ्नुहोस् कि त्यो सम्बन्धमा केहि सकारात्मक तत्वहरूको आवश्यकता परेको छ। मनोवैज्ञानिकहरूका अनुसार, यस्ता केहि कुराहरू र अनुभवहरू छन्, जसले यसरी टाढिन पुगेका जोडीहरूलाई नजिक ल्याउन मद्दत गर्दछन्।

आज हामी तपाईँहरूलाई यस्ता ५ टिप्पणीहरू देखाउन गैरहेका छौँ, जसले तपाईँको प्रेम सम्बन्धमा मधुरता ल्याउन सक्दो मद्दत गर्दछ-

१. बिदाको समय सँगै बिताउनुहोस्-

सँधै आफ्नो कामको व्यस्तताले गर्दा भनेजसरी बिदा पाउन गाह्रो छ, तर एकचोटी प्रयास गर्नुहोस्, यसको फल मीठो नै हुनेछ। तर तपाईँहरू दुवैजनालाई सुहाउने किसिमको बिदा भेट्टाउनु नै यसको सबैभन्दा महत्वपूर्ण तत्व हुन जान्छ। बिदा मनाउने ठाउँ, वातावरण र क्रियाकलापहरू दुवैजनाको लागि स्वीकार्य हुनु पनि जरुरी हुन्छ।

२. सँगै बसेर खाना बनाउनुहोस्-

प्रेम जोडीहरूलाई सँगै ल्याउने सबैभन्दा राम्रो उपाय भनेकै यहि नै हो, सँगै बसेर खाना वा खाजा बनाउनु। यसरी सँगै काम गर्दा तपाईँहरूबीचको सामिप्यता बढ्न जान्छ, एक-अर्काको मनका कुराहरू बुझ्न सकिन्छ। अनि कसको के चाहना छ र त्यो चाहनाको लागि दुवैजना मिलेर खट्टिन पनि सकिन्छ। मिष्ठान्न भोजनले तपाईँहरूको सम्बन्धमा पनि मीठो बहार ल्याउन धेरै नै मद्दत गर्दछ।

३. एक-अर्काको शरीर मालिस गर्नुहोस्-

धेरै समयदेखिको कामले गर्दा शरीरमा थकान आउँदछ, अनि त्यहि थकान नै सम्बन्धमा बाधा पुर्याउने मूख्य तत्व हुन सक्छ। त्यसैले यदि तपाईँहरूबीचको यो बाधालाई हटाउन चाहनुहुन्छ भने त्यो बाधालाई सँगै मिलेर हटाउन पनि पहल गर्न सकिन्छ। दुवैजनाले एक-अर्काको टाउको, शरीर अनि खुट्टामा मालिस गर्नाले शारीरिक तथा मानसिक तनावबाट मुक्त हुन सकिन्छ र बल्ल मात्रै सम्बन्धको बारेमा ताजा दिमागले सोच्न सकिन्छ।

४. कतै घुम्न जानुहोस्-

नेपाल यसै पनि सुन्दर देश हो। तपाईँहरू बसेको ठाउँकै वरिपरी पनि कतिपय यस्ता ठाउँहरू हुन्छन् जुन अति नै सुन्दर, शान्त र तपाईँहरूको लागि उपयुक्त हुन सक्छन्। नजिकै त्यस्ता ठाउँहरू नभएपनि समय मिलाएर कतै घुम्न जान पनि सकिन्छ। यसरी घुम्न जाँने क्रममा एक-अर्काको साथको महशुस गर्न सक्नुहुन्छ, अनि पहिले कतै गुमेको त्यो विश्वास र मधुरता फेरि फर्किन पनि सक्छ।

५. सँगै बसेर रमाइलो काम गर्नुहोस्-

प्रेम सम्बन्धमा रोमान्सको पनि अति नै आवश्यकता हुन्छ, हलुका छुच्चोपना अथवा उत्ताउलोपनाले पनि प्रेमजोडीहरू बीचको त्यो गाँठोलाई अझ बलियो बनाउन मद्दत पुर्याउँदछ। बिदाको समय वा फुर्सदको समयमा सँगै बस्नुहोस्, रमाइला कुराहरू गर्नुहोस्, दुःखलाई एक-अर्काको मुस्कानसँग घुलाएर पचाउन सिक्नुहोस्, अनि त जटिलता भन्ने कुरै रहँदैन। होइन, हामी एक रोचक खेल खेल्छौँ भन्नुहुन्छ भने पनि ठीकै छ, त्यो पनि अति उत्तम तरिका हुन सक्छ।

तपाईँको प्रेम सम्बन्धलाई बलियो र विश्वासिलो बनाउने क्षमता केवल तपाईँहरूसँग मात्रै हुन्छ। सम्बन्धमा अविश्वासको पर्खाल खडा भयो भने पनि त्यो अरू कसैको दोष हुँदैन, तपाईँ आफ्नै हुन्छ र त्यो पर्खाललाई जरै देखि हटाउने क्षमता पनि तपाईँ सँग मात्रै हुन्छ। कुरा त केवल इच्छाशक्तिको हो, चाहनाको हो, अनि मायाको हो।