५ वैशाख, एजेन्सी ।

हलिउड फिल्म ‘फेट अफ फ्युरियस’ले बक्स अफिसमा सबै अन्तराष्ट्रिय रेकर्ड तोडेको छ । रिलिज भएको पहिलो हप्तामै भिन डिजेल स्टारर फिल्मले ५३.२५ करोड डलर कमाई गरेको थियो ।

‘फास्ट एण्ड फ्युरियस’को यो आठौँ फिल्म हो । यसअघि पनि फिल्मले निकै राम्रो सफलता हात पारेको थियो । यसअघिको २०१५ मा रिलिज भएको फिल्म ‘फ्युरियस -७ ‘ले  १४.७२ करोड डलर कमाएको थियो । फिल्ममा सबैभन्दा चर्चित स्टार ड्वेन जोनसन र विन डिजेलको प्रमुख भूमिका रहेको छ ।

हालसम्म सबैभन्दा अधिक कमाउने फिल्म ‘स्टार वार्स द फोर्स अवेकन्स’ थियो । जसले सबैभन्दा बढि एक हप्तामा ५२.९ करोड डलर कमाएको थियो ।

फास्ट एन्ड फ्युरियस यति धेरै सफल हुनुमा फिल्मको विश्वव्यापी अपिल रहेको समिक्षकको भनाई छ । जसमा हरेक उमेर समुहका व्यक्तिले फिल्ममार्फत रमाइलो गर्न सक्छन् । यो फिल्म विश्वव्यापी रुपमा सफल हुनुमा फिल्म चीनमा पनि रिलिज भएकाले हो।

फिल्मको आगामी भाग सन् २०१९ र २०२१ मा रिलिज गरिने जनाइएको छ । यो फिल्म कतिपय ठाउँमा फास्ट एण्ड फ्युरियस- ८ को नामले समेत प्रदर्शन गरिएको छ।