सुरेन्द्र भण्डारी / २८ भदौ, झापा ।

सामाजिक सञ्जाल फेसबुकको दुरुपयोग भइरहेका बेला केहीले भने यसलाई समाज सेवाको माध्यम बनाएका छन् ।

बाह्रदशी गाउँपालिका–७ निवासी आर्थिकरुपले अति विपन्न एक क्यान्सर पीडित युवतीलाई उपचारका लागि खर्च जुटाएर रोग मुक्त गराउने सोही ठाउँका टोम राजवंशीसहित तुलसीप्रसाद राजवंशी, गोपालचन्द्र राजवंशी, कुवित राजवंशी र श्याम राजवंशी समाजका उदाहरणीय पात्र बनेका छन् ।

आन्द्रामा क्यान्सर भएर आर्थिक अभावले मृत्युसँग छटपटाइरहेकी फूलकुमारी राजवंशीको उपचारका लागि उहाँहरुले रकम जुटाएर सहयोग गरेका हुन् ।

फूलकुमारीको उपचारका लागि फेसबुकबाटै दुई लाख ४० हजार संकलन भएपछि सोही रकमबाट उनको भरतपुर क्यान्सर अस्पतालमा उपचार भएको थियो । उपचारपछि फूलकुमारीले नयाँ जीवन पाएकी छन ।

छोरीको जीवन बचाइदिन आग्रह गर्दै फूलकुमारीका बुबा शेषलालले हारगुहार गरेपछि राजवंशी समाज विकास समितिका पूर्वअध्यक्षसमेत रहेका टोमले युवाको सक्रियतामा सामाजिक सञ्जालमार्फत ‘फूलकुमारी बचाउ अभियान’ चलाएका थिए ।

सो अभियानबाट जुटेको रकमले फूलकुमारीको उपचार गराएपछि उनले नयाँ जीवन पाएकी हुन । उनको उपचारका लागि नेपाल तथा विदेशमा रहेका नेपालीले नबिल बंैकको खाता रकम उपलब्ध गराएका थिए ।

सहयोग पाएपछि फूलमायाको क्यान्सरको शल्यक्रिया गरेर सञ्चो भएपछि अहिले उनलाई घरमा ल्याइएको छ । सबैको सहयोगमा नयाँ जीवन पाएपछि फूलकुमारीका वुबा–आमा मात्र होइन अहिले डाँगीबारीवासी हर्षित छन् । रासस