२७ साउन, काठमाडौं ।

काठमाडौंको डल्लु र ढल्कु जोडने गरि विष्णुमति खोलमा निर्माणाधिन पुल भत्केको छ । कमसल निर्माण सामाग्रीको प्रयोग गरेर पुल निर्माण गरिएका कारण बनाउदा बनाउदै भत्किएको स्थानीयले बताएका छन् ।

एकसाताभित्र निर्माण सकेर उदघाटन गर्ने तयारीमा रहेको पुलमा राख्न लागिएका स्ल्यावको भार थेग्न नसकेर गएराती पुल भत्केको हो । बजेट सक्ने गरी कम गुणस्तरका सामाग्री प्रयोग गरेर निर्माण गरिएको कारण पुल भत्केको आरोप स्थानीयको छ ।

काठमाडौ महानगरपालिका बडा नम्बर १५ र १७ जोडने गरि निर्माण गरिएको पुल भत्किदा निर्माणमा सग्लन पाँच मजदुर घाइते समेत भएका छन् । निर्माणाधिन अवस्थामै पुल भत्केपछि स्थानीयले ठेकेदारलाई कारवाही गर्नुपर्ने माग गरेका छन् ।

ठेकेदार कम्पनी हिमसगरमाथा कन्सट्रक्सनले भने पुलले स्ल्यावको भार थेग्न नसक्दा भत्केको जानकारी दिएको छ । विष्णुमति खोलामा कालिमाटिदेखि नयाँ बजारसम्म दशवटाभन्दा बढी पुल रहेका छन् ।

तर सडक विभागले स्थानीयसँग समन्वय नगरी डेढ करोडको लगानीमा आवश्यक नभएको ठाँउमा पुल निर्माण गरेको स्थानीयको गुनासो छ । उक्त पुल स्टिल ट्रष्टबाट निर्माण गरिँदै थियो ।