२५ साउन, काठमाडौं ।

२०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त रक्षा मन्त्रालयको नयाँ भवन निर्माण शिलन्यास भएको छ ।

राज्यको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारका अधिकांश भवनमा भूकम्पले क्षति र्पुयाएको भए पनि अन्य भवन निर्माणको प्रक्रियाले प्राथमिकता पाउन सकेको छैन । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रालयको नयाँ भवन शिलन्यास गरेका छन् ।

कानून मन्त्रालयको पछाडी रहेको खाली जग्गामा मन्त्रालयको भवन निर्माण हुन लागेको हो । भूकम्पले भवन बस्न नसक्ने गरी क्षतिग्रस्त भएपछि रक्षा मन्त्रालयको काम कारबाही सुरक्षा परिषदको सचिवालयबाट हुँदै आएको थियो ।

भवन शिलान्यास गर्दै प्रधानमन्त्री देउवाले आर्थिक अनुशासनमा रहेर तोकिएको समयभित्र निर्माण सम्पन्न गर्न सबै पक्षलाई आफ्नो जिम्मेवारीको विषयमा सचेत रहन निर्देशन दिए ।

उनले भवन स्वीकृतिको नक्सांकन र प्रारुपबमोजिमको गुणस्तर र लागतमा तोकिएको समयभित्र सम्पन्न गर्न निर्माण कार्यमा संलग्न सबैलाई निर्देशन दिए । नेपाली सेनाको क्याभलरी रहेको स्थानमा भवन निर्माण गर्न लागिएको हो ।

क्याभलरीको आधा जग्गा सरकारले सर्वोच्च अदालतलाई दिएको छ । बाँकी आधा जग्गामा मन्त्रालयको भवन बन्न लागेको हो । क्याभलरी अन्यत्र सार्ने सरकारले जग्गा व्यवस्थापन गर्ने सर्तमा सेनाले उक्त जग्गा मन्त्रालय र अदालतलाई दिएको हो ।