• बोमलाल गिरी

पछिल्लो संविधानसभा चुनावको अध्यावधिक तथ्यांक अनुसार एक सय ६४ दल निर्वाचन आयोगमा दर्ता भएका थिए । स्थानीय तहको निर्वाचनमा मान्यता पाउनका लागि ८१ वटा दलले दल दर्ताको सूचना दिएका छन् ।

पछिल्लो समय यी राजनीतिक दलभन्दा आफूलाई फरक दावी गर्ने दुई नयाँ पार्टी जन्मिएका छन्, बाबुराम भट्टराईको नयाँ शक्ति पार्टी र रवीन्द्र मिश्रको साझा पार्टी ।

भट्टराई युद्धको मोर्चाबाट संविधानसभा हुँदै प्रधानमन्त्री र अर्थमन्त्री समेत भइसकेका ‘टेष्टेड’ व्यक्ति हुन् । तर उनी आफूलाई निक्कै फरक ढंगले देशको मुहार फेर्ने दृढ संकल्प सहित नयाँ शक्ति पार्टी निर्माणमा होमिएका छन् । मिश्र पत्रकारिताको मोर्चाबाट राजनीतिको कखरा सिक्दै छन् ।

उनलाई कस्ता व्यक्तिले साथ दिने हुन् त्यो अन्यौल नै छ । पार्टीले आकार नै नलिएको अवस्थामा जनआधार शून्य हुनु त सामान्य नै हो । दुबैका पार्टी ‘अनटेष्टेड’ नै छन् ।

तर फरक पृष्ठभूमिबाट बढी चर्चा बटुलेर जन्मिएकाले उनीहरु दुबैको पार्टीलाई अलि महत्व दिन थालिएको छ । भट्टराईले नयाँ शक्ति पार्टी गठन गर्दै गर्दा रवीन्द्र मिश्र पनि उनकै पार्टीमा सहभागि हुने चर्चा थियो ।

तर अन्ततः उनले बाबुरामलाई साथ दिएनन् र आफै नयाँ पार्टी खोल्न कस्सिए । तर के नयाँ पार्टीलाई त्यति सजिलो होला जनमत बटुल्न ? हरेक जनजनको जिब्रोमा अहिले एउटै प्रश्न छ कि राजनीति फोहोरी खेल हो । त्यो फोहोरी खेलको कलंकको टिका हटाउन उनीहरुलाई पक्कै पनि फलामको चिउरा चपाउनु सरह नै हुनेछ ।

भट्टराई र मिश्रको पार्टीको भिन्नता

आर्थिक समृद्धिको कुरामा दुबै पार्टीको सोंच समान देखिन्छ । तर अन्य धेरै कुरामा यी दुई पार्टीबीच भिन्नता छ । बाबुरामको पार्टी एक खुड्किलो उक्लिसकेको छ, सानै भए पनि गाउँ गाउँमा संगठन विस्तार भएको छ ।

उनी पर्दा अगाडिका राजनीतिक मान्छे हुन् त्यसैले बाबुरामलाई धेरै मान्छेले चिनेका छन् । बौद्धिक मान्छे भएकाले धेरैले आश गरेका पनि छन् तर हजारौको ज्यान जाने गरी जनयुद्ध गरेको पार्टी छोडेर नयाँ पार्टी गठन गरेकोले जनताले विश्वास गरिहाल्लान भन्ने देखिन्न ।

मिश्रको राजनीतिक यात्रा भर्खर मात्र बामे सर्ने तयारीमा छ । उनी राजनीतिलाई नजिकबाट नियालेका, बुझेका मान्छे हुन् तर राजनीतिक मान्छे होइनन् भन्दा पनि हुन्छ ।

लामो समय उत्कृष्ट पत्रकारिता गरेका बीबीसी नेपाली सेवाका पूर्व प्रमुख मिश्र पर्दा पछि बसेर बोल्ने मान्छे हुन् त्यसैले धेरैले बोलि सुनेका तर नचिनेका मान्छे हुन् । बोलिकै आधारमा अहिले नै जनमत बढिहाल्छ भन्ने आधार पनि छैन ।

दुई पार्टीको एकता कति सम्भव ?

त्यसो त अहिलेसम्म जन्मिएका झण्डै दुई सय पार्टीको उदेश्य जे देखिए पनि नारा एउटै हो, देश र जनताको सेवा गर्ने । फरक पृष्ठभूमिबाट आएका तर उद्देश्य समान भएका यी पछिल्ला दुई पार्टीले जनमत लिइनसकेकाले परीक्षा हुन बाँकी नै छ । त्यसैले आलोचना गर्ने बेला पनि भएको छैन ।

मिश्रको पार्टीमा को को, कस्ता अनुहार रहन्छन्, सिद्धान्त कस्तो अपनाउछ लगायतका कुराले पनि आगामी बाटो अवलम्बन गर्ला । तर मिश्रको पार्टीमा भट्राईको पार्टीलाई सेकेण्ड माओवादी भन्नेहरु धेरै छन् र छ पनि त्यस्तै । त्यसैले शुरुमा जति चर्चा गरिए पनि दुई पर्टीको एकता सम्भव देखिदैन ।

अबका चुनौती

अहिलेका प्रमुख पार्टी नेपाली कांग्रेस, नेकपा एमाले र राप्रपा पुराना ऐतिहासिक पार्टी हुन् । अनि माओवादी र मधेस केन्द्रीत दल आन्दोलनबाट उदाएका नयाँ शक्ति ।

त्यसैले ऐतिहासिक र आन्दोलनका पृष्ठभूमि दुबै नभएका यी दुबै नयाँ पार्टीलाई जनताले विश्वास गर्छन गर्दैनन् त्यो अहिले नै मुल्यांकन गर्नु अलि हतार हुन सक्छ । तर विगतले त्यस्तो देखाउँदैन ।

किनकी भर्खर जन्मेका नयाँ शक्ति पार्टी र साझा पार्टी जसरी एकै चोटि उदाएर शिखरमा पुगेको कुनै पनि पार्टी छैनन् नेपालमा । अर्को तर्फ बाबुरामको नयाँ शक्ति पार्टी माउ माओवादीबाट टुक्रिएर जन्मेको पार्टी हो ।

र, फुटेको पार्टीलाई जनताले विश्वास गर्दैनन् भन्ने कुरा यसअघि फुटेका शेरबहादुर देउवा, बामदेव गौतम, मोहन बैद्य, मधेसी जनअधिकार फोरम र राप्रपाका विभिन्न घटकलाई हेर्दा पनि स्पष्टै हुन्छ ।
त्यसैले राजनीति गर्नु र पार्टी खोल्नुको लक्ष्य सांसद वा मन्त्री बन्नु मात्र हो भने त निक्कै सहज पनि छ नेपालमा । किनकी सामाजिक सञ्जालकै प्रसंसकले भोट दिएकै आधारमा पनि समानुपातिक तर्फबाट १–२ सिट जित्न त्यति कठिन छैन ।

अन्यथा अहिलेका स्थापित राजनीतिक दलहरुलाई चक्मा दिँदै देशको मुहार फेर्ने नै पवित्र उद्देश्य हो भने लामै समय धेरै मेहनत गर्नु पर्ने देखिन्छ ।