२५ असार, बिराटनगर । बिराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका भीम पराजुली २३ हजार ३ मत पाएर निर्वाचित भएका छन् । शनिबार सकिएको मत गणनामा मेयर र उपमेयर दुबैमा कांग्रेसका उम्मेदवार विजयी भएका छन ।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका विनोद ढकालले १७ हजार ३२१ मत पाए भने तेस्रो स्थानमा रहेका संघीय फोरमका उमेश यादवले १४ हजार ९५८ मत पाए ।

बिराटनगरमा एमालेले फोरम लोकतान्त्रिकसँग र संघीय समाजवादी फोरमले माओवादीसँग तालमेल गर्दा पनि एमालेका उम्मेद्वारलाई हराउन सकेनन् ।

यस्तै उपमेयरमा कांग्रेसकी इन्दिरा कार्कीले २० हजार १४६ मत पाएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी उम्मेदवार नमिता न्यौपानेले ११ हजार ५२३ मत पाएकी छन् भने फोरम लोकतान्त्रिककी सूची चौधरीले १० हजार ५३६ मत पाइन् ।