१३ असार, बाँके ।
पटवारी कुचबधियाले सेता–मुठे जुँगा बटारे। रूखको फेदमा सयल तापिरहेका महिला–पुरुष सबैले इसारा बुझिहाले। मध्याहनको टन्टलापुर घाममा उनको पछिपछि नजिकैको स्कुलतिर गए। र, मतदाता परिचयपत्र बुझे।

अर्को समूह केही पर अर्कै रूखमुनि जुटिरहेको थियो। परिचयपत्र बुझ्नेहरूसमेत सीधै त्यतै लागे। गोलाकार घेरा बनाएर सबै भुइँमा बसे। सामान्य खाजापानीसहित ‘पञ्चेती’ (गाउँलेको भेला) सुरु भयो। विषय थियो– सबै मिलेर योग्य उम्मेदवार छानौं र एकै ठाउँ भोट दिऔं। तर, कसलाई ? केही घण्टाको बहसमा पनि उनीहरू निचोडमा पुग्न सकेनन्।

बाँकेको जानकी गाउँपालिका–३ इन्द्रपुरको लोपोन्मुख कुचबधिया समुदाय अति पिछडिएको भए पनि राजनीतिक चेतनामा भने पछाडि छैन। सबै काम सल्लाहमा गर्छन्– भोट हाल्नेसमेत। तर, कुनै मुखियाको उर्दीमा होइन, ‘पञ्चेती’ बसी, सबैबाट पारित गराएर। आजको कान्तिपुरमा खबर छ ।

‘सबै पार्टीका नेता आए, भोट मागे। हामीले ठीकै छ भनेर पठायौं,’ चमरिया कुचबधियाले भनिन्, ‘भोट त कसलाई दिने अझै टुंगो छैन।’ त्यही भएर सबै दलमा यस समुदायको भोट पाउने आस अझै मरेको छैन। निर्वाचन आयोगले तोकेको मौन अवधि लागू भइसकेर पनि उनीहरू विभिन्न बहाना बनाउँदै आउन छाडेका छैनन्।

पटवारीको घरनजिक रूखको फेदमा कुचबधिया समुदायसँग कान्तिपुरले कुराकानी गरिरहेका बेला एक व्यक्ति साइकलमा आए। मतपत्रमा आफ्नो दलका सबै उम्मेदवारलाई स्वस्तिक छाप लगाएको नमुना देखाए। र, भने, ‘तरिका यो हो, अन्यत्र पर्ला।’

मौन अवधि सुरु भएको होइन र ? भन्ने प्रश्नमा उनले भने, ‘हो, तर यसो भेटघाट गर्न मात्रै आएको।’ उनी आफैं भने उनीहरूको मत पाउनेमा ढुक्क देखिएनन्। भने, ‘अहिलेसम्म अर्कै दललाई दिने भन्दैछन् रे। अन्तिमसम्म के गर्छन्, टुंगो छैन।’

सहरका जान्नेबुझ्ने धेरैले बेलामा मतदाता सूचीमा सामेल हुन आफूलाई छुटाए। तोकिएको समयमा फोटो खिचाउन र नाम दर्ता गराउन उनीहरूको ध्यान पुगेन। कुचबधिया जातिका भने नागरिकता भएका र उमेर पुगेका कोही छुटेका छैनन्। ‘अघिल्लो चुनावअघि फोटो खिच्ने टोली आउँदा मधेसमा रोक्न आन्दोलन थियो। तर हामी नडराई गयौं र फाटो खिचायौं,’ लौटन कुचबधियाले भने, ‘भोट दियो भने पो हामीलाई पनि यस्तो गरिदेऊ भन्न पाइन्छ। भोटै नदिएपछि कसलाई भन्नु ?’

देशभर कुचबधियाको जनसंख्या करिब ८ सय भएको अनुमान छ। ढुंगा खिप्ने पेसा अपनाउने भएकाले यिनीहरूलाई अर्को जाति पत्थरकट्टासँग मिसाएर २०६८ को जनगणनाले ३ हजार १ सय ८२ देखाएको थियो। कुचबधियाको संख्या मध्यपश्चिममा ४ सय ४८ छ। ती सबैजसो बाँकेका नेपालगन्ज आसपास इन्द्रपुर, फूलटेक्रा र गनापुरमा छन्। त्यसको सबैभन्दा ठूलो समूह इन्द्रपुरमा छ। यहाँ ६० परिवारका २ सय ४० मतदाता छन्।

कहिल्यै कुनै कुरामा नबाँडिनु नै आफ्नो समाजको गौरव ठान्छन् उनीहरू। ‘एक/दुई भोट दायाँ–बायाँ जाला, बाँकी सबै एकै ठाउँ पर्छ,’ त्यही समुदायकी एक महिलाले भनिन्, ‘सुरुमा एउटा पार्टीलाई दिने कुरा थियो। बीचमा अर्कै पार्टीतिर कुरा गयो। चुनावको दिनसम्म अर्कै पार्टीतिर पुग्न पनि सक्छ। तर, दायाँ–बायाँ हुँदैन।’