१६ असोज, काठमाडौं ।

अमेरिकाले भोली मंगलवारवाट डाइभर्सिटी भिसा ‘डीभी’ चिट्ठा खुला हुने जानकारी दिएको छ । नेपालस्थित अमेरिकी दूतावासले सोमबार विज्ञप्ति जारी गरी मंगलवारबाट सन् दुई हजार १९ को डीभी कार्याक्रमका लागि आवेदन दर्ता अवधि खुल्ला हुने जनाएको हो ।

‘डीभी कार्यक्रम भोली तीन अक्टोबर नेपालमा स्थानीय समय अनुसार बेलुकी नौ बजेर पैतालिस मिनेटवाट सुरु हुनेगरी खुल्ने र कार्तिक २१ गते नेपालमा स्थानीय समय अनुसार राती दश बजेर पैतालिस मिनेटवाट बन्द हुने दूतावासद्धारा जारी सूचनामा उल्लेख गरिएको छ ।

दूतावासले आवेदन निःशुल्क हुने र डीभी चिट्ठा प्रवेश गर्नका लागि कुनै पनि शुल्क नलाग्ने जानकारी पनि विज्ञप्तिमा दिएको छ । यस्तै कुनै कन्सल्टेन्टको आवश्यकता नपर्ने भन्दै अमेरिकी दूतावासले आवेदकलाई आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन सुझाव दिएको छ ।

दूतावासका अनुसार फाराम दर्ता गर्दा पति÷पत्नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचीकृत गर्नु अनिवार्य छ । उनीहरुलाई समावेश नगरी पेश गरिएको आवेदन अमान्य ठहरिने बताइएको छ ।

एकजनाका लागि एउटामात्र आवेदन बुझाउनुपर्ने र एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरु चिट्ठाका लागि अयोग्य ठहरिने पनि विज्ञप्तीमा उल्लेख गरिएको छ ।