८ वैशाख,बाजुरा । बूढीगङ्गा नगरपालिका– १० का खम्म सार्की स्थानीय तहको निर्वाचन हुने भएपछि भारतबाट घर फर्किएका छन । उनी आठ वर्षपछि घर फर्किएका हुन ।

संविधान सभाको निर्वाचनमा मत हाल्न सार्की दुई महिनाको बिदा लिएर भारतको दिल्लीबाट आएका हुन । स्थानीय तहको निर्वाचन महत्वपूर्ण भएको उनको भनाइ छ ।

यस्तै छेडेदह गाउँपालिका– १ का धनसिंह रोकाया तीन महिना अगाडी मजदुरी गर्न भारत गएपनि एक हप्ता अघि घर फर्किएका छन । रोकाया पनि स्थानीय तहको निर्वाचनका लागि घर फिर्ता भएका हुन । “वडामा उम्मेदवारी दिने योजना बनाएर घर फर्केको हुँ,” रोकायाले भने । लामो समयपछि स्थानीय तहको निर्वाचन हुन लागेकाले चौकीदारी काम छोडेर आएको रोकाया बताउछन ।

ब्रह्मतोलाका गणेश रौले पाँच महिनादेखि चौकीदारी गर्न भारतको राजधानी नयाँ दिल्ली गएका हुन । उनी स्थानीय तहको निर्वाचनमा आफ्नो वडामा अध्यक्ष पदमा उम्मेदवारी दिने भन्दै घर फर्किएका न। “मसँगै धरै नेपाली निर्वाचनका लागि घर फर्किका छन्,” रौलेले भने ।

बेतालमाडौंस्थित बसको टिकट काउन्टरका खड्कराज जोशी भारतबाट दैनिक चार÷पाँच सयको सङ्ख्यामा नेपाली नागरिक घर फर्किन थालेको बताउछन् । “बसमा दसैँमा जस्तै घर फर्किनेको चाप देखिन्छ,” उनले भने । अधिकांशलाई चुनाव लागेको छ । भारतका विभिन्न शहरमा मजदुरी गर्दै आएका यहाँका बासिन्दा घर फर्किने क्रम बढेको छ । रासस