१० फागुन, सुनसरी।

नेपाल सरकारले संविधान संशोधनलाई थाति राखी स्थानीय निकायको निर्वाचनको मिति घोषणा गरेको भन्दै विरोधमा बुधवार मधेश बन्दको आह्वान गरेको मधेशी मोर्चाले सुनसरी सदरमुकाम इनरुवामा मसाल जुलुस निकालेको छ ।

सुनसरी सदरमुकाम इनरुवामा मोर्चा आवद्ध दलका नेता कार्यकर्ताहरुले विरोध प्रर्दशन गर्दै मसाल जुलुस निकालेका हुन ।

सद्भावना पार्टी कार्यालय नजिकबाट निकालिएको मसाल जुलुस लोकतान्त्रिक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

मसाल जुलुसमा सहभागिहरुले ‘निर्वाचनको मिति घोषणा धोका हो’, ‘संविधान संशोधन नभै हुने निर्वाचन आफुहरुलाई मान्य नहुने’ भन्दै नारावाजी गरेका थिए ।

संघीय समाजवादी फोरम , सद्भावना पार्टी लगायतका दलहरु रहेको मोर्चा तथा मोर्चाका संयोजक उपेन्द्र यादवको गृह जिल्ला समेत रहेको भएपनि सुनसरी सदरमुकाम इनरुवामा आयोजित मसाल जुलुसमा सहभागी संख्या भने न्यून देखिन्थ्यो ।