२० मंसिर, धनकुटा । मलेसियामा सम्पन्न प्रथम एएफसी सोलिडारिटी कप फुटबलमा नेपाललाई उपाधि दिलाउन उत्कृष्ट खेल प्रदर्शन गरेकामा सुजल श्रेष्ठ र किरण चेम्जोङलाई गृह जिल्ला धनकुटामा आज नागरिक अभिनन्दन गरिएको छ ।

राष्ट्रिय टोलीका गोलरक्षक चेम्जोङ र निर्णायक गोलकर्ता खेलाडी श्रेष्ठको सम्मानमा जिल्लावासीका तर्फबाट अभिनन्दन गरिएको हो । किरण, सुजल बृहत् नागरिक अभिनन्दन समारोह मूल आयोजक समितिले दुवै खेलाडीलाई रु ७५–७५हजार पनि प्रदान ग-यो । चेम्जोङ र श्रेष्ठलाई गाडीमा राखेर राष्ट्रिय झन्डासहित नगर परिक्रमा पनि गराइयो ।

nepal-v-macau-afc-solidarity-cup-final

सयौँ मानिसको सहभागितामा बसपार्कबाट ‘किप्पर होस् किरणजस्तो, खेलाडी होस् सुजल जस्तो’ लगायत नारा लगाउँदै सुरु भएको पदयात्रा हुलाक टोल, बीचबजार, भीमनारायण चोक, हटियालगायत क्षेत्रको परिक्रमापछि टुँडिखेलमा पुगेर सभामा परिणत भएको थियो ।

कार्यक्रममा सांसद अञ्जना ताम्ली, प्रजिअ प्रेमप्रकाश उप्रेती, आयोजक समितिका अध्यक्ष शम्भु प्रधान लगायतले सम्मान गर्नुभयो । चेम्जोङ राजारानीका र श्रेष्ठ धनकुटा बजारवासी हुन् ।

प्रतियोगिताको फाइनलमा सुजलले मकाउविरुद्ध निर्णायक गोल गर्दै नेपाललाई १–० ले उपाधि जिताएका थिए । गोलरक्षक चेम्जोङले सशक्त प्रहारबाट जोगाएर ६२ वर्षपछि नेपाललाई फुटबलको ठूलो सफलता हासिल गराएका हुन् । यही जितसँगै नेपालले उपाधिको ह्याट्रिक मात्र नभएर महादेशीय उपाधि पनि उचालेको छ । रासस