बोमलाल गिरी

जनवरी २२ को दिन, म पोर्चुगलमा संगै बस्ने साथीहरुसँग नेपाल फर्कनका लागि टिकट काट्न ट्राभल एजेन्सीमा पुगेको थिए । मेरो रोजाईको टिकट जनवरी २२ थियो । दुर्भाग्य त्यो दिन आइतबार रहेछ ।

मसँगै गएका साथीहरु कुनै पनि हालतमा मलाई आइतबारको टिकट नकाट्न दवाव दिइरहेका थिए । किनकी उनीहरु मलाई एयरपोटसम्म पुगेर बिदाई गर्न चाहन्थे । तर उनीहरुले काम गर्ने कम्पनीले आइतबार कुनै हालतमा पनि बिदा दिँदैनथ्यो ।

मेरो ढिपीको अगाडि उनीहरुको केही लागेन । मैले जनवरी २२ आइतबारकै टिकट लिए । फलतः उनीहरुले मलाई बिदाई गर्न पाएनन् । त्यसैले मेरो औपचारिक विदाई २१ जनवरीको राती नै भएको थियो ।

मैले त्यो दिनकै टिकट काट्नुको एउटै मात्र कारण थियो, जुन दिन मैले सुन्दर सपना बोकेर युरोपका लागि नेपाल छोडेको थिए, त्यसै दिन नेपाल टेक्नु थियो । र सफल पनि भए ।

मेरो युरोप घुमाई, बसाई र भोगाई ३ सय ६५ दिन भयो । जुन दिन घर छोडेको थिए, त्यही दिन टुप्लुक्क घर आइपुगे । यो संयोग मात्र थिएन, एक वर्षको अनुभव बटुल्नु पनि थियो । परिवार र साथीसंगी बाहेक अरु खासै केही गुमाउनु परेन । यो एक वर्षे अवधि मेरा लागि निक्कै फलदायी पनि भयो । फलदायी यस अर्थमा कि मैले यो अवधिमा एक दर्जन देश घुम्ने अनि धेरै कुरा सिक्ने र बुझ्ने अवसर पाएँ ।

धेरैको बुझाई र भोगाईमा सम्पन्नता र सहलसिलताको देश हो युरोप । हाम्रा नेताहरुले भाषणमा भन्ने गरेको जस्तो साम्यवाद र समाजवादको उत्कृष्ट नमूना पनि युरोपमा देखियो ।

पृष्ठभूमि के थियो थाहा भएन तर सडक, ट्रेन र मेट्रोहरुमा दुई हात फैलाएर माग्दै हिडेका सेतो छाला भएका माान्छेहरु पनि देखे । भाडा माझ्दा माझ्दा केमिकलले हात खाएर हात मिलाउन पनि नरुचाउने गरी काम गरेका नेपाली साथीभाई भेटे ।

मासिक ५ सय ३० युरोमा काम लगाइदिएर एक सय युरो कमिसन खाने आफ्नै नेपाली दाजुभाई देखे । एक वर्षसम्म पनि काम नपाएर घरबाट पैसा मगाई गुजारा चलाइरहेकाहरुलाई भेटे ।

वर्क परमिटमा जाँदा पनि १७ लाख नेपाली रुपैयाँसम्म दलाललाई बुझाएका साथीभाई भेटे । ३५ लाखसम्म खर्च गरेर इराक, अफगानिस्तान र सिरियाबाट तीन महिना समुन्द्रको बाटो हुँदै युरोप छिरेका मित्रहरुलाई भेटे ।

सरकारी नियुक्ति लिएर मानव तस्करीको काम गरिरहेकाहरुलाई देखे । नेपालमा राम्रो छवि बनाएकाहरु युरोपका कृषि फामहरुमा भूमिगत भएर काम गरिरहेको देखे अनि फाट्टफुट्ट आफ्नै व्यवशाय गरेर रमाईरहेका मान्छेहरुलाई पनि देखे । यो बाहेक अरु धेरै देखे युरोपमा ।

समग्रमा अनेक हण्डर खाएका, नेपालमा बाउआमाको पैसाले मात्तिएका, ठगिएर आएका, ठग्न आएका, अपराध गरेर लुक्न आएका, पढ्न आएका, पैसा कमाउन आएका, पीआर र रातो पासपोर्ट बनाउन आएकाहरुको संगम रहेछ युरोप ।

यसरी विभिन्न उद्देश्यले युरोप छिरेकाहरु दुई हातका औलामा गन्न मिल्ने जती सफल भएको र खुशी भएको देखे । बाँकी धेरैले बिहानै बेलुकै ‘थुइक्क साला जिन्दगी’ भन्दै समय र आफ्नो भाग्लाई सरापी सरापी काम गरिरहेकाहरुलाई देखे । आन्तरिक पीडा लुकाएर समुन्द्रको छाल र बिसौ तलाका गगनचुम्बी भवनलाई पृष्ठभूमि बनाएर फेसबुकमा फोटो अपलोड गर्नेहरुलाई देखे ।

सायद नेपालको राजनीतिक नेतृत्वले सिकाएको गलत संस्कार त्यही होला कि राजनीतिक खिचातानी नेपालमा भन्दा बढी रहेछ । जातियता र क्षेत्रीयताले यहाँभन्दा बढी गाँजेको छ त्यहाँ । साँच्ची भन्नु पर्दा आँतले नहाँसे पनि दाँतले हाँस्नु पर्ने, अनि मनले वहिस्कार गरे पनि हातले नमस्कार गर्नु पर्ने देश रहेछ युरोप ।

युरोपबाट सिक्नु पर्ने

युरोप समग्र हिसावले खत्तम पनि छैन । खत्तम त बरु हाम्रै स्वभाव र चरित्र हो । हामी नेपाली युरोपीयन होइन, युरोपीयनलाई नेपाली बनाउन खोज्छौं । युरोपमा नेपालीपन खोज्छौं । जो सम्भव छैन । युरोपबाट हामीले बरु अनुशासन, इमान्दारीता र सभ्व संस्कार सिक्न सक्नु पर्छ ।

सबैभन्दा पहिले सडक सभ्यता सिक्न जरुरी छ । म युरोप छिर्ने बित्तिकै सडकहरुमा कतै पनि ट्राफिक प्रहरी नदेख्दा लाग्थ्यो त्यहाँ त जे गरे पनि हुन्छ होला । तर प्रहरी त केवल बेइमानहरुका लागि मात्र रहेछ । जव सबै इमान्दार हुन्छन्, प्रहरीको आवश्यकता किन ?

काठमाण्डौको थापाथलीमा मेरो बाइकले सडक लेन अनुशासन उल्लंघन गरेर लाइसेन्स खोस्दा दुई घण्टा ट्राफिकको क्लास लिएको सम्झे । अनि प्रहरीले अनुशासन सिकाउनुको सट्टा गाडी ढुकेर लाइसेन्स र बिलबुक खोसेको याद आयो ।

२ सयको स्पिडमा कुद्ने गाडी पनि जेब्रा क्रसिङमा टक्क अडिदो रहेछ । आँख चिम्म गरेर सडक पार गर्न सकिने । क्या गज्जव ! त्यसैले पो युरोप भएको रहेछ ।

आफै नियम उलंघन गर्ने म, विदेशमा जेब्रा क्रसिङलाई यति महत्व दिएको देख्दा म र मजस्तै चालकको बुद्धि कहिले फिर्छ होला भनेर आफैलाई प्रश्न गरे । कुनै पनि लाइनमा बस्दा आफूलाई भन्दा अरुलाई प्राथमिकता दिने युरोपियनहरुलाई आफूसँग तुलना गरे । तर लाज लागेर आयो । सरसफाइ र अनुशासनको त के कुरा ! सायद हाम्रो स्वभाव नै त्यस्तै विचित्रको छ ।

म नेपाल फर्कने कुरा गर्दै गर्दा मलाई धेरैले भन्ने गर्थे नेपालको माया केही दिनका लागि मात्र हो । त्यसपछि अत्तालिनु पर्छ । जव म चढेको टर्किस एयरलाइन्स जनवरी २३ को दिन बिहान ११ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानथलमा ल्याण्डेड भयो, मेरो मुटु गर्वले फुल्यो । म मेरै देश फर्के भनेर गर्वले आखा रसाएछन् ।

विमानस्थलबाट बाहिर आउँदा सुधार केही थिएन । हुन पनि एक वर्षमा सभ्यता कसरी परिवर्तन हुन्थ्यो र ! त्यो अस्तव्यस्थतालाई सामान्य रुपमा लिए र त्यसैमा आफूलाई अभ्यस्त बनाउने प्रयास गरे । तर मनले भनेर मात्र कहाँ हुन्थ्यो र । एक वर्षमा म कुनै दिन विरामी परिन । तर काठमाण्डौको धुलोले एकै छिनमा रुघा लागेर नसनस बनायो । सायद विदेशबाट आउने सबैको भोगाई यस्तै हो ।

अन्त्यमा,

पी आर र रातो पासपोर्टधारी धेरै नेपालीहरुको नेपाललाई हेर्ने दृष्टिकोण धेरै फरक पर्छ । भलै सबैको बुझाई एउटै नहोला । उनीहरु नेपालको धुलो धुँवा र अस्तव्यस्ततालाई विदेशिनुको एउटा प्रमुख कारण ठान्छन् ।

त्यसमा परिवर्तन गर्न हामीले गर्नु पर्ने धेरै छैन । सामान्य कुराहरु– हामी सबैले अनुशासनको पाठ सिक्नु पर्छ । आफूलाई इमान्दार र सभ्य नागरिकको रुपमा स्थापित गर्न सक्नुपर्छ ।

सरकारले नारामा मात्र नयाँ नेपाल होइन, सामान्य विजुली र पानीको समस्या समाधान गर्नु पर्छ । अनि फोहोर र धुलो धुवाको समस्या समाधान गर्न मात्र सक्ने हो भने नेपाल पुरानो थिएन, फोहोर भएको नेपाल, सफा बन्ने थियो । सबैको मुहारमा खुशीको चमक देख्न पाइने थियो ।

बोमलालका अन्य लेख:

अरुलाई विदेश जान हुन्न भन्ने नै यसरी परदेशी भए

युरोपको कहालीलाग्दो जीन्दगी: बाँचेका त छन् तर छिटो मर्ने चाहनामा