बैशाख १२ गतेको विनासकारी भुकम्प अघि निक्कै चर्चामा रहेको माओवादी पुर्नगठन अभियान भुकम्प पछि सुस्तायो । तर प्रमुख चार दलबीच भएको १६ बुँदे सहमती पछि मोहन बैद्य नेतृत्वको नेकपा माओवादीले एकताको औचित्व र सम्भावना सकिएको निष्कर्ष निकाल्यो ।

एमाओवादीबाट केही नेता बाहिरिँदै छने भने माओवादी पुर्नगठन अभियानको फेरी चर्चा पनि हुन थालेको छ । गत आइतबार मात्रै माओवादीका दोस्रो तहका नेताले छलफल गरी एकता अभियान शुरु गरेका छन् । माओवादी एकता कति सम्भव छ त ? यसै सन्दर्भमा नेपाली हेडलाइनसका लागि बोमलाल गिरीले एकीकृत नेकपा माओवादीका युवा नेता जनार्दन शर्मा ‘प्रभाकर’ सँग कुराकानी गरेका छन् ।

JANARDAN SHARMA

१६ बुँदे पछि माओवादीहरुबीच गर्ने भनिएको एकता धरापमा परेको थियो । अहिले फेरी तपाईहरुले त्यो अभियानलाई पुर्नजीवन दिन थाल्नु भएको हो ?

हो, हामीले माओवादीको पुर्नगठन अभियान थालेका थियौं । अभियान धेरै अघि बढेको पनि थियो । तर भुकम्पपछि सबैको ध्यान राहात र उद्धारमा केन्द्रीत भएपछि हाम्रो अभियान स्थगन जस्तो थियो । अहिले हाम्रो कार्यक्रमलाई निरन्तरता दिएका छौं र अघि बढाएका छौं ।

तर १६ बुँदे सहमती पछि त बैद्य नेतृत्वको नेकपा माओवादी रुष्ट भएर एकताको सम्भावनामा ढोका लगाईसकेको थियो । अहिले फेरी कसरी सहमत भयो तपाईहरुको यो अभियानमा ?

१६ बुँदे केवल १६ बुँदेमा मात्र सिमित छैन । त्यो शान्ति प्रकृयाका निरन्तरतामा भएका सम्झौताको परिणतीमा हो । १६ बुँदेलाई हेरेर मात्र कुनै अर्थ छैन । समग्रतामा जनताको अपेक्षा अनुसारको उपलब्धी नभएको कुरा त जनताका सुझावले पनि प्रष्ट भइसक्यो । त्यसमा जनताका सुझावले त्यसलाई परिमार्जन गर्न निर्देशन गरिसकेको स्वतः स्पष्ट छ ।
त्यसलाई समग्रमा हेरेर हाम्रो पुर्नगठन अभियान रोकिन्नथ्यो । त्यसमा भएका कमिकम्जोरीको समिक्षा गर्ने स्वतः हुन्छ । माओवादीको पुर्नगठन सिंगो कम्युनिष्ट र क्रान्तिकारीलाई एकीकृत गर्ने अभियान हो । कमी कम्जोरीको समिक्षा गर्दै फेरी यो अभियानलाई छलफल गरेर अघि बढाएका छौं ।

यो कुरा त तपाईले भन्दा पनि बैद्य नेतृत्वको नेकपा माओवादीले पो बुझ्नु पर्ने होइन र?

हामी सबै एउटै धरातल र एउटै विचारबाट पैदा भएका मान्छे हौं । केही मतभेदका कारण विगतमा पार्टी टुटफुट भए पनि फेरी आज त्यही धरातलमा उभिएर अघि बढ्ने सम्भावना बलियो भएको छ । त्यो एउटा पक्षले मात्र होइन, सबैले बुझ्नु पर्ने कुरा हो । अनि मात्र हामी सफल हुन सक्छौं ।

यो एकता सम्भव छैन भन्ने पार्टीले नै बुझ्यो भने पो तपाईहरुले अघि सारेको आन्दोलन र पुर्नगठन अभियान सफल होला त ?

त्यो पार्टीमा यो जरुरी छैन भन्ने छैन । पुर्नगठन गर्नुपर्छ भन्ने पक्ष नै हावी छ । त्यो मतको बलमा हामीले नेतृत्वका पनि एकल निर्णय गर्ने कुराहरु वा कतिपक्ष एकतर्फी प्रकृया गर्ने दुबै गलत छन् । ती नेतृत्वले गरेका कम्जोरीको पनि हामीले समिक्षा गर्नुपर्छ । समग्र क्रान्तिकारी र कम्युनिष्टलाई एक ठाउँमा ल्याउने व्यापक र बृहत कुरा हो । त्यो कुनै विषय विषेशका आधारमा समाप्त पार्न सकिन्न भन्नेमा हामी सहमत छौं ।

कुन कुरालाई केन्द्र विन्दु बनाएर वार्तालाई अघि बढाईरहनु भएको छ ?

अहिलेको संविधान निर्माणमा उत्पिडित किसान, मजदुर, क्षेत्र, वर्ग, महिला, दलित, आदिवासी जनजातिका अधिकरालाई सुनिश्चित गर्नु पथ्र्यो त्यो भएको छैन । यो सँग सम्बन्धित ज्ञापन पत्र हामीले सभाध्यक्षलाई पनि बुझाएका छौं । त्यस्तै १६ बुँदेको समिक्षा, संसदीय व्यवस्था होइन, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख सहितको हुनुपर्छ भनेका छौं । यीनै विषयमा छलफल गरेर सहमतीका साथ अघि बढ्दैछौं ।

तपाईले संविधानका यी कुराहरु गरिरहँदा अहिलेको संविधानसभा नै विघटन गरेर गोलमेच सम्मेलन गर्नु पर्छ भन्ने पार्टी कसरी सहमतीमा आउला भनेर विश्वास गर्न सक्नुहुन्छ ?

गोलमेचको कुरा उहाँहरुले पार्टीगत रुपमा राखेका कुरा आफ्नो ठाउँमा छँदैछ । संविधानसभा पनि जननिर्वाचितको गोलमेच नै हो । तर विषय वस्तुको रुपमा उहाँहरुले राखेका फरक मतलाई पनि सम्मान गदै हामीले पनि प्राप्त उपलब्धीको रक्षा गर्ने कुरालाई अन्यथा नमानेर नयाँ परिस्थिती अनुसार अघि बढ्नुपर्छ । अहिलेका लागि हाम्रो रणनीतिक लक्ष्य, हाम्रो कार्यक्रम, योजना, जनता प्रतिको उत्तरदायीतव र वर्ग प्रतिको प्रतिवद्धता प्रधान ठान्दै अघि बढ्दैछौं ।

यी कुराहरुको बारेमा तपाईहरु दुबै पक्षले आफ्नो नेतृतवसँग कत्तिको छलफल गर्नुभएको छ ?

मैले किरण जि र बादल जिसँग बसेर छलफल गरे । हाम्रो पार्टी नेतृत्वसँग पनि छलफल गरेका छौं । उहाँहरुको एकता र वार्ता प्रकृया भंग हुनु अघि नै हामीले यो अभियान थालेका थियौं ।
त्यो पुर्नगठन अभियानको बलमा उहाँहरुले एकता प्रकृया अघि बढाउनु भएको थियो । तर उहाँहरुबीच समझ्दारी नभएर भंग भएको अवस्थामा उहाँहरुसँग कुरा गर्दै, जानकारी गराएकै छौं । तर कतिपय कुराहरु हामी आफ्नो ढंगले पनि निर्णय गरेका छौं ।

तपाईले यो ठोस र मुर्त कार्यदिशा तयार गर्न पुर्नगठित महाधिवेशन गर्ने भन्नुभएको छ । कति समयमा यो एकताको सम्भावना देख्नुहुन्छ ? तपाईहरुको प्रयासले के देखाउँछ ?

हामी स्थानीय स्तर र जिल्ला जिल्लाबाट र राज्यहरुबाट पुर्नगठन अभियानलाई संयुक्त रुपमा लैजान्छौं । त्यसले एउटा वातावरण बनाउँछ । वैचारिक हिसाले जनयुद्ध, शान्ति प्रकृया, संविधानसभा चुनाव र यहाँसम्म आउँदाका कस्का के कम्जोरी हुन त्यसको समग्र समिक्षा गर्ने र नेपालको आजको दिनमा, बस्तुगत धरातलमा टेकेर कम्युनिष्ट आन्दोलन, जनता प्रतिको उत्तरदायी र जनताको चाहनाको नेतृत्व गर्न सक्ने अवको कार्यदिशा, पार्टीको नीति र नेतृत्वको वहस र छलफल गर्दै, त्यसको संष्लेषण गर्न पुर्नगठित महाधिवेशन चाहिन्छ भनेका छौं । त्यही अनुसार अघि बढ्छौं र सफल बनाएरै छाड्छौं ।

यो अभियान बैद्य नेतृत्वको माओवादीसँग मात्र सिमित हुन्छ वा विप्लव नेतृत्वको माओवादीसँग पनि ?

बैद्य माओवादीसँग मात्र होइन, विप्लव माओवादीसँग पनि भइरहेको छ । धर्मेन्द्र वास्तोला लगायत हामीसँगैको छलफलमा हुनुहुन्छ । त्यति मात्र होइन, मणी थापा, मातृका यादव जि लगायतहरुसँग पनि छलफल चलिरहेको छ । क्रान्तिकारी कम्युनिष्टहरुसँग एकता र अरुहरुसँग सहकार्य गर्दै मोर्चाबन्दी गर्दै जनताको चाहना पूरा गर्नु पर्छ भनेर हामीले प्रष्ट भनेका छौं ।

एकता सम्भव छ भन्ने सन्देश दिन खोज्दै हुनुहुन्छ तपाई ?

एकता सम्भव छ, अपरिहार्य छ र आवश्यक छ । सन्देश मात्र होइन हामी त्यसैमा लागेका छौं । कतिलाई पद र व्यक्तिगत स्वार्थ हेर्ने हो भने कतिपयलाई असम्भव लाग्न सक्छ । तर जनताको र वर्गको स्वार्थबाट हेर्ने हो भने सम्भव छ । यो सन्देश मात्र होइन, अभियान हो र ठोस र मूर्त कुरा पनि हो ।

अनि अर्को कुरा तपाईहरुले संविधानसभाका अध्यक्षलाई ज्ञापन पत्र पनि बुझाउनुभयो । जनताको सुझाव के आएको छ भनेर ख्याल गर्नु भएन क्यार । नत्र ८ प्रदेश धेरै भयो भनेर घटाउन सुझाव आइरहेका बेला तपाईहरु त फेरी १४ प्रदेश बनाउन भन्दै हुनुहुन्छ ?

जनताले ८ प्रदेश धेरै भयो पनि भनेका छन् । १४ प्रदेश बनाउनु पर्छ भन्ने पनि छ । हाम्रो कुरा के हो भने अघिल्लो संविधानसभामा भएको सहमतीका आधारमा अघि बढ्नुपर्छ, भन्ने कुरा हामीले राखेका हौं । जनताको ख्याल नगरेको होइन गरेका छौं ।

तर तपाईहरुको १४ प्रदेश पछि जनताले न त संविधानसभा चुनावमा पत्याए, न त सुझाव संकलनमा नै । फेरी किन तपाईहरुहरु त्यता तिर फर्कदै हुनुहुन्छ ?

सुझावमा पनि नआएको होइन, प्रयाप्त आएको छ ।

तर बहुमत कता भन्ने होला नि जनमतको कुरा गर्दा त ।

बहुमत भनेर जनता गनेर बहुमत र अल्पमत निकालेको छ र ? स्प्रिटको कुरा गर्दा दुबै कुरा आएका छन् । संख्या नै नभनेपनि पहिचान सहितकै हुनुपर्छ, सिमांकन गरेरै जानु पर्छ भन्ने मूल स्प्रिट हो । त्यसैलाई टेवा पुरयाउन हामीले यो कुरा राखेको हो ।

तर दलहरुको छलफलमा पनि १४ प्रदेशको कुरा हराई सक्यो । तपाईको यो ज्ञापन पत्र त के सुनिएला र ?

ठिकै छ । छलफल हुँदै जाला हामीले हाम्रा कुरा राखेका छौं । अहिले त्यो कुरा स्वीकार्य नभए पनि, कसैलाई मन नपरे पनि कुनै बेला त्यसको अर्थ र महत्व अवस्य पनि रहने छ । हामीले अहिले मत दर्ज गराएका छौं ।