११ जेठ, काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजिनामा दिएपछि अब कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा बन्ने सरकारमा माओवादी केन्द्रबाट को–को मन्त्री बन्ने ? भन्ने बहस सुरु भएको छ ।

मन्त्रीसँगै सरकारको नेतृत्व कसले गर्ने भन्नेमा पनि अध्यक्ष प्रचण्डले छलफल थालेका छन् । विगतमा पटक–पटक गरी सरकारमा मन्त्री पठाउदा अनावश्यक विवाद भएको कारण यस पटक माओवादीले एकै पटक सबै मन्त्री पठाउने तयारी गरेको प्रचण्डको सचिवालयले बताएको छ ।

देउवा नेतृत्वको सरकारमा माओवादीबाट नेतृत्व लिनको लागि छुट्टाछुट्टै छलफल समेत हुन थालेका छन् । प्रचण्ड नेतृत्वको सरकारमा माओवादीले उपप्रधानसहित अर्थ मन्त्रालय पाएकाले देउवा नेतृत्वको सरकारमा माओवादीलाई गृह मन्त्रालय दिने सहमति भइसकेको छ ।

उपप्रधान र गृहमन्त्रीको जिम्मेवारीसहित पार्टीबाट सरकारमा सहभागी हुनका लागि माओवादीमा तीन नेताहरुको चर्चा सुरु भएको छ । प्रचण्ड सरकारमा सफल उर्जामन्त्रीको जिम्मेवारी सम्हालेका कारण जनार्दन शर्मालाई नै सरकारमा माओवादी मन्त्रीहरुको नेतृत्व गर्ने गरी पठाउनुपर्ने बहस पनि सुरु भएको छ ।

तर पार्टीभित्र कांग्रेसँग परामर्श गरेर उर्जा मन्त्रालय लिने र उक्त मन्त्रालयमा शर्मालाई नै निरन्तरता दिनुपर्ने जनमत पनि बलियो देखिएको छ । त्यसैगरी नारायणकाजी श्रेष्ठ निकट रहेका गिरिराजमणी पोखरेलको नेतृत्वमा उपप्रधान र गृह सरकारमा पठाउनु पर्ने दबाब पनि प्रचण्ड मािथ छ । श्रोतका अनुसार पोखरेलकै नेतृत्वमा पठाउन श्रेष्ठले प्रचण्डसँग लविङ गरिरहेका छन् ।

वरिष्ठता र विगतमा बाबुराम भट्टराइको निकट भएर पनि नयाँ शक्तिमा नगएका टोपबहादुर रायमाझीले समेत सरकारमा माओवादीको नेतृत्व लिनुपर्ने माग गरेका छन् । रायमाझीले प्रचण्डलाईसँग भेटेरै आफ्नो नेतृत्वमा सरकारमा जानुपर्ने माग गरेको बताइएको छ ।

शर्मा, पोख्रेल र रायमाझीबीच विवाद भएमा प्रचण्डले अहिलेको सरकारका उपप्रधान एवं अर्थ मन्त्री कृष्णबहादुर महराले जिम्मेवारी पाउने सम्भावनालाई पनि नकार्न सकिन्न । प्रचण्ड नेतृत्वको सरकारमा माओवादीबाट आठ जना मन्त्री भएका थिए । देउवाले नेतृत्व गर्दा मन्त्रालयको संख्या केही थप हुन सक्ने देखिएको छ ।

प्रचण्ड नेतृत्वमा रहेका महरा र शर्मा बाहेक अन्य मन्त्रीहरु नदोहोर्याउने नीति प्रचण्डले लिएका छन् । यस पटक नयाँ अनुहारलाई प्राथमिकता दिने तयारी प्रचण्डको छ । प्रभु शाह, टेकबहादुर बस्नेत, हितराज पाण्डे, महेन्द्र बहादुर शाही, रामनारायण विडारी, श्यामकुमार श्रेष्ठ, हरिबोल गजुरेल, सीता नेपाली, गौरीशकंर चौधरी, अमन लाल मोदी, सन्त कुमार थारु मध्येबाट मन्त्रीहरु छानिने छन् ।

माओवादीका एक नेताका अनुसार पुरानो अनुभव भएका र नयाँको सन्तुलतन मिलाएर मन्त्री बनाउने तयारी प्रचण्डले गरेका छन् ।