कुशल श्रेष्ठ

धेरै गुलियो खानेकुरा खानुहुँदैन भनेर त सायद सबैलाई थाहै छ होला। तर किन थाहा छ? मोटाइन्छ भनेर हो?

एकछिन पर्खिनुहोस्! हो, गुलियोको मात्रा थोरै खाँदा तपाईँको तौललाई नियन्त्रण गर्न मद्दत हुन्छ साथै, थोरै गुलियो खानुको फाइदा अरु पनि छन्। पढ्नुस्, धेरै गुलियो खाने बानीलाई कम गर्दा यस्ता ५ फाइदाहरू हुन्छन्ःSugar

१. क्यान्सरको सम्भावना कम गर्न सक्नुहुन्छ

२०१६को क्यान्सर सम्बन्धी खोजबाट, धेरै गुलियो खाने व्यक्तिहरूमा थोरै गुलियो खाने व्यक्तिहरूमा भन्दा बढी स्तन क्यान्सर हुन सक्ने सम्भावना रहेको पत्ता लागेको छ। यस्तो किन हुन्छ भन्दा, चिनी अथवा चिनीजस्तो गुलियो वस्तुहरूमा ‘फ्रक्टोज’ (Fructose) नामक तत्व बढी हुन्छ, जसले शरीरमा प्रोटिन र फ्याटी एसिडको प्रतिक्रियालाई सुचारु गर्दछ, जसको कारण क्यान्सरको विकासमा सहयोग पुग्दछ। अनि यसले स्तन क्यान्सर मात्रै गराउँदैन। ४,३५,६७४ जना पुरुष र महिला सहभागी भएको एक खोजबाट थोरै गुलियो खाने व्यक्तिहरूमा भोजननली, सानो आन्द्रा र फोक्सोको क्यान्सर हुने सम्भावना कम भएको पत्ता लागेको थियो।

(क्यान्सरबाट बच्नको लागि आफ्नो जीवनमा यी १० सूत्र लागु गर्नुहोस्)

२. तपाईँ खुसी हुन सक्नुहुन्छ

गुलियो खानेकुराले एकैछिनको लागि उत्तेजना पैदा गराउँदछ, तर यो धेरैबेर सम्म टिक्दैन। बरु यसले डिप्रेसन ल्याउन सक्छ। युनिभिर्सिटी अफ मोन्ट्रियालका अनुसन्धानकर्ताहरूले गरेको एक खोजबाट, गुलियो वस्तुले दिमागमा लागूऔषधले जस्तो रसायनिक प्रतिक्रिया गराउँदछ जसले डिप्रेसन ल्याउन सक्दछ। अनि २०१५ मा ७०,००० जना महिनावारी रोकिएका महिलाहरूलाई सहभागी गराइएको खोजले धेरै गुलियो खानेहरूलाई थोरै गुलियो खानेहरूको भन्दा बढी डिप्रेसनको समस्या आएको पत्ता लागेको थियो।

(जीवनमा खुसी रहनका लागि ६ अचुक सुत्रहरू अपनाउनुहोस्)

३. दिमागको शक्ति बढाउन सक्नुहुन्छ

दिमागको लागि गुलियो खानेकुराले ठ्याक्कै असर गरिहाल्छ। गुलियो खानेकुरामा हुने फ्रक्टोजले मस्तिष्कको कार्यशक्तिलाई क्षय गर्दछ र ‘न्यूरोइन्फ्लेमेसन’ (Neuroinflammation) गराउँदछ। शरीरका विभिन्न अङ्गमा मस्तिष्कले सङ्केत पठाउने न्यूरनहरूको क्षयलाई नै न्यूरोइन्फ्लेमेसन भनिन्छ। विशेष गरी, वृद्धवृद्धाहरूमा धेरै गुलियोले अल्जाइमर रोग र पागलपन गराउन सक्दछ। अल्जाइमर भनेको वास्तवमा मधुमेहकै एक रूप हो, जसले ऊर्जाको लागि गुलियो पदार्थलाई कसरी प्रयोग गर्ने भन्ने मस्तिष्कको क्षमतालाई बोधो बनाउँदछ।

४. मुटुको स्वास्थ्यलाई सुधार गर्न सक्नुहुन्छ

मोटोपना भएर मात्रै मुटु सम्बन्धी रोग लाग्ने होइन। १,००,००० जनालाई सहभागी गराइएको एक खोजबाट मोटोपना नभएपनि धेरै गुलियो खाने व्यक्तिहरू चाँडै नै मुटु रोगबाट ग्रसित हुने कुरा पत्ता लागेको थियो। गुलियोले हाइपरटेन्सन, धमनी रोग, हृदयघात जस्ता घातक रोगहरू निम्त्याउन सक्ने कुरा पनि उक्त खोजबाट पत्ता लागेको थियो।

(मुटुरोगबाट बच्न नियमित चिया पिउनुपर्छ, किन? पढ्न यहाँ क्लिक गर्नुहोस्)

५. तपाईँ धेरै बाँच्न सक्नुहुन्छ

थोरै गुलियो खाँदा मधुमेह, मुटु रोग, क्यान्सर, कलेजो खराब हुने र डिप्रेसन जस्ता समस्यालाई टाढा राख्दछ भने तपाईँको जीवनकाललाई पनि त बढाउन सक्छ। यहि विषयमा आधारित भएर ‘हार्वर्ड स्कुल अफ पब्लिक हेल्थ’का विध्यार्थीहरूले अनुसन्धान गरेका थिए। विश्वभरी नै धेरै गुलियो खाएर वर्षेनी करीब १,८०,००० जनाको मृत्यु हुने उनीहरूले पत्ता लगाएका थिए।

“चिनी पनि धेरै खायो भने तीतो हुन्छ!” साँच्चै नै गुलियो पदार्थले हाम्रो खानेकुरालाई स्वादिष्ट त बनाउँछ, तर अत्याधिक गुलियोले थाहै नपाई हाम्रो कलेजो, मुटु, फोक्सो, भोजननलीलाई खराब बनाउँदै लैजान्छ। यदि तपाईँ पनि डिप्रेसनबाट टाढा हुन चाहनुहुन्छ, घातक रोगबाट बच्न चाहनुहुन्छ अनि लामो जीवन बाँच्न चाहनुहुन्छ भने आजैदेखि धेरै गुलियो खाने बानीलाई हटाउनुहोस्।