केही प्रतिष्ठित कहलिएका मानव तस्कारहरुले व्यक्तिगत सेटिङका आधारमा त केही नाम चलेकै म्यानपावरहरुले युरोपमा फ्रि भिषामा कामदार लैजादा एक जनाबाट १७ लाख रुपैयाँसम्म लिने गरेको पाइएको छ । त्यो विवरण केही दिनमा सार्वजनिक गर्नेछौं ।

अरु केही त्यस्ता व्यक्तिहरु पनि छन् जसले फ्रि मै युरोपमा मान्छे लैजाँदै छन् । व्यक्तिगत स्वार्थ के छ वा निश्वार्थ ? त्यो विस्तारै खुल्दै जाला । तर झण्डै ५ वर्षदेखि पोर्चुगलमा बसेर एटलान्टिक अपरच्युनिटि कम्पनी सञ्चालन गरिरहेका दीपेन्द्र आचार्य (बादशाह) ले टिकट खर्च बाहेक फ्रिमा २० जना भुकम्प पीडितलाई पोर्चुगल लैजादै छन् ।

उनले त्यसका लागि पोर्चुगलबाट सबै प्रकृया सकिएको र नेपालमा केही डकुमेन्टेशनको काम मात्र बाँही रहेको बताएका छन् । ‘पोर्चुगलमा सरकारी कर्मचारीसँग काम गर्दा कतै एक पैसा पनि लागेन, सायद अरुहरुको पनि नलाग्नु पर्ने हो, आचार्य भन्छन्, ‘मेरो यो कदम एउटै व्यक्तिबाट लाखौं रुपैयाँ असुल्नेहरुलाई चुनौती पनि हो ।’ प्रस्तुत छ उनै दीपेन्द्र आचार्यलाई पोर्चुगलमै भेटेर बोमलाल गिरीले गरेको कुराकानीः

यहाँ बसेको कति भयो ?

झण्डै ५ वर्ष पुग्न लाग्यो ।

के गर्नुहुन्छ ?

काम गर्छु । जागिर जस्तै हो । मान्छेले एउटा कम्पनि सञ्चालकको रुपमा चिने पनि मेरो लागि जागिर हो । विभिन्न खेतिमा काम खोजेर नेपाल, भारत, पाकिस्तान, बंगलादेश लगायत एशियन देशबाट आएका साथीभाईलाई खेतिमा काम उपलब्ध गराउने काम गर्छु ।

अहिले तपाईको कम्पनिमा कति कामदार छन् ? 

अहिले त अफ सिजन हो । धेरै काम हुने समय होइन । अहिले २ सय जति छन् । गत वर्षको सिजनमा तीन सय थिए । २ सय कामदारलाई बाह्रै महिना काम छ ।

कसरी कन्ट्याक्टमा ल्याउनुहुन्छ । कसरी काम लगाउनुहुन्छ ?

कामदार आफै आउँछन् ।

तपाई आफै कसरी काम खोज्नुहुन्छ ?

म खोज्छु । प्राय २४ घण्टा नै मेरो दिमागमा काम खोज्ने र काम लगाउने कुरा खेलिरहन्छ । पोर्चुगल भनेको यस्तो देश हो, जहाँ यहाँका मान्छेलाई नै काम पाउने सम्भावना एकदमै कम छ । म त्यस्ता मान्छेलाई काम खोज्छु, जसको कार्ड छैन, भाषा छैन, काम आउँदैन त्यस्तालाई काम खोज्छु र दिन्छु ।

त्यसका लागि त म जतिबेला पनि रनिङ नै हुन्छु । मेरा ग्राहकसँग नियमित सम्पर्कमा रहन्छु । हामी कृषि प्रधानदेशका मान्छे हौं, काम आउँछ, गर्न चाहन्छौं भन्छु । त्यसरी नै म उनीहरुको ढोका ढक्ढकाउँछु । तर अव अनुभव बटुल्दै जाँदा त्यसरी ढोका चाहार्न नपर्ने भइसकेको छ ।

काम पाउन गाह्रो कि दिन ?

पहिले म नयाँ थिए, मलाई कसैले चिन्दैनथ्यो । काम ल्याउन गाह्रो थियो । अव मलाई कामदार पाउन गाह्रो छ । खेतीमा काम अनुसारको दाम हुन्छ । त्यसैले जोखिम पनि बढी हुन्छ । जोखिम हुने भएकाले शुरुमा विश्वास गर्दैन थिए । अहिले भने माग अनुसारको सेवा दिन सक्छन् । त्यसैले अहिले लिन भन्दा दिन अर्थात टिकाउन गाह्रो भएको छ ।

तपाईका जस्ता कम्पनी त पोर्चुगलमा धेरै छन् । तपाई कसरी भन्न सक्नुहुन्छ कि अरुको कम्पनी भन्दा तपाईको विश्वसनिय छ ?

यो म्यानपावरको काम हो । हाम्रो पेशा मान्छेसँग गर्ने काम हो । मैरै राम्रो, मेरै विश्वसनिय भनेर त म कसरी भनूँ ? म एक्लै गरिरहेको छु । साहु, म्यानेजर, हरेक व्यवस्थापन आफै गरिरहको छु । त्यसैले कति कम्पनी छन्, कसरी गरेका छन् । मलाई थाहा छैन । मैले बजारमा म अरुभन्दा राम्रो छु भनेर पनि भन्न परेको छैन ।

तपाईको कम्पनीमा काम गर्दा कामदारले पाउने विशेष सुविधा के छ ?

पोर्चुगलको सरकारी सुविधा जे छ त्यही नै छ । न्यूनतम सुविधा लागू छ । चाडपर्व भत्ता छ । प्रत्येक दिन काम गर्दा खानाको पैसा पाइन्छ ।

खेतिमा काम गर्दाका सकारात्मक र नकारात्मक पक्ष के हुन् ? कामदारदेखि म्यानेजसम्म भएर हेर्दा के पाउनुहुन्छ ?

मान्छेले बाहिरबाट हेर्दाखेरी ए… खेतीमा काम गर्छ रे ! भनेर हल्का ढंगले नकारात्मक रुपमा हेर्छन् । तर म त्यसैलाई विदेशमा काम गर्न आएको हो । काम गरेको छ, जागिर गरेको छ भनेर सकारात्मक ढंगले बुझ्छु । हाम्रो नेपाली समाज, विभिन्न संघसंस्था, समाजले मान्नु पर्ने केही विशिष्ठ व्यक्तिहरुबाटै खेतीको कामलाई नकारात्मक रुपमा हेर्छन् । दुई तीन सय जनालाई काम दिएको छु, जिम्मेवारी वहन गरेको छु ।

तर अहिलेसम्म कसैले पनि यति धेरै मान्छेलाई खेतीमा काम दिनसक्ने, पी आर बन्ने रहेछ, विदेशमा पनि पारिवारिक वातावरणमा काम गर्न सक्छो रहेछ भनेर राम्रो भनेको देखेको छैन । धेरै जसोले रेष्टुरेन्ट वा पसल सञ्चालन गरेका छन्, जहाँ दुई तीन जनाभन्दा बढीलाई काम दिन सकिन्न । तर मैले सैयौंको संख्यामा काम दिँदा पनि इर्ष्याले हो वा किन थाहा छैन, राम्रो भन्दा रहेनछन् । तर मैले नकारात्मक कुरा कतै केही भेटेको छैन ।

नकारात्मक बनाउनलाई चिसोमा काम गरेको छ, दुःख गरेको छ भन्छन् । त्यो त दुःख होइन, आवश्यकता हो । किनकी श्रम गरे वापत त्यसको मूल्य पाएको हुन्छ । भाषा छैन, शिप छैन । नेपालबाट आज आयो भोली काम पाएको छ ।

यहाँ आउनेका दुईवटा उद्देश्य छन्, केही पैसा पनि कमाउने, पी आर पनि बनाउने । त्यो दुबै उद्देश्य खेतीमा काम गरेर पूरा हुन्छ । त्यो त सकारात्मक नै हो नि ।

तर मैले तपाईका कारदारबाट सुनेका केही नकारात्मक कुराहरु पनि छन् । तपाईले ट्याक्स त तिरिदिएकै छु भन्नुहुन्छ, धेरै पैसा दिनुहुन्न । कम्पनी बन्द भए ट्याक्स पनि बन्द हुन्छ भन्नुहुन्छ र बाध्यताले काम लगाउनु भएको छ । घण्टाका हिसावले तपाई ४ युरो लिनुहुन्छ, कामदारलाई २ युरो दिनुहुन्छ ।

त्यो गलत हो । त्यस्तो हुनै सक्दैन । हामी कार्यालय खोलेर बसेका छौं । सयौंको संख्यामा रहेकाले काम गर्छन । तपाईले सुनेको पक्कै पनि स्वभाविक होला । कारण के हो भने, दुई सय किलोमिटर टाढा खेतीमा काम गछौं । यही काम गर्नेहरुसँग पनि नियमित भेट हुन गाह्रो छ ।

काममा आउने, ५ दिन काम गर्न नसकेर जानेहरुले त्यस्तो कुरा गरेका हुन सक्छन् ।

मेरो कम्पनीमा ७० प्रतिशत कामदार भारतीय छन् । भारतीय कामदारले नेपालीको कम्पनीमा नेपालीलाई धनी बनाउनका लागि कहिल्यै पनि काम गर्दैनन् । त्यो तपाईले भुलेर पनि नसोच्नुहोला ।

तर मैले सुनेको कुरा अर्के छ । नेपालीभन्दा भारतीय र बंगालीलाई कार्डको महत्व बढी छ । उनीहरु जसरी पनि कार्ड चाहन्छन् । त्यसैले तपाईले ‘भैया ! कम्पनी बन्द भए त तिमिहरुको ट्याक्स पनि जाँदैन, कार्ड पनि बन्दैन’ भनेर दवाएर राख्नु भएको छ ? 

त्यो म कहिल्यै भन्दैन । किनकी त्यो मेरो आफ्नो कम्पनी हो । केही भए त मेरो कम्पनी पनि त जान्छ नि । कामदार मात्र होइन मेरो कार्ड पनि जान्छ । त्यसैले हामीले गलत गर्नै मिन्दैन । मैले अरुको कम्पनीबाट काम गरेको भए तपाईको आशंका जायज हुन सक्थ्यो । कुनै पनि बेला मेरो कार्यालय खुल्ला छ । केही गुनासा भए कार्यालयमै गर्न सकिन्छ ।

नेपालीले भारतीयलाई पेलेको छ, दवाएर राखेको छ भने त गर्व मान्नुस न त । म बच्चैदेखि सुनेको थिए, ‘एउटा मरेको भारतीयले ७ जना ज्यूँदो नेपाली ठग्छ ।’ आज एउटा ज्यूँदो नेपालीले सयौं भारतीयलाई त्यसरी ठग्छ भने के नराम्रो भो त ? गर्व मान्नुस् न ।

गर्व मानौं ?

मान्नुस ।

त्यसो भए ठगेको भन्ने त पुष्टि हुन्छ नि ?

सत्य कुरा त्यो होइन । तर त्यसो भए तपाईले नेपालीलाई राम्रो गरेको र भारतीयलाई नराम्रो गरेको छ भन्ने पनि सुन्नुभएको होला ।

पोर्चुगलमा बसेका नेपालीहरुका लागि खेती कत्तिको उपयुक्त पेशा हो ?

मेहनती र इमान्दारका लागि भयंकर उपयुक्त हो । अल्छी र वाहियात कुरा गर्नेका लागि वेकारको पेशा हो ।

खेतीको काम सिजनमा ६ महिना मात्र छ भनिन्छ  ?

त्यो तपाईको बुझाईमा होला । मैले पहिले नै भनिसके २ सय जनाले अहिले पनि अफ सिजनको समयमा मेरो कम्पनीबाट काम गरिरहेका छन् । मेरो हातमा प्रमाण छ । म तपाईको कुरा कसरी मान्छु ? त्यो बाहिर सुनेको कुरा बाहिरै टुंग्याउनुस् । मेहनत गर्नेहरुका लागि बाह्रै महिना काम छ । अलिकति हाइ र लो भन्ने त भइरहन्छ । त्यसैलाई इश्यू बनाउन त पाइएन नि ।