१ माघ, बेरुत(एजेन्सी) । मस्को र अङ्काराको संयुक्त प्रयासमा यसै महिनामा गर्न लागिएको सिरियाको शान्ति वार्ताका लागि वासिङ्गटनलाई पनि निमन्त्रणा गरिने टर्की प्रधानमन्त्रीले जानकारी दिएका छन । तर रसियाले भने यस निमन्त्रणाको पुष्टि गर्न अस्वीकार गरेको छ ।

सिरियामा केही हप्तायता भएको युद्धबिराममा रसिया र टर्कीको प्रयासमा जारी भएको थियो । यसै युद्धबिरामका कारण काजकिस्तानको राजधानी आस्तानामा आगामी जनवरी २३ मा सिरियाको विषयमा शान्ति वार्ता हुने भएको हो ।

Putin-Obama

विगतमा सिरियामा जारी द्वन्द्व समाधानको उद्देश्यले सिरियाका परस्पर विरोधीहरूलाई वार्ताको टेबुलमा ल्याउनका लागि वासिङ्गटनको ठूलो भूमिका रहेको थियो ।

संयुक्त राज्य अमेरिकालाई निश्चित रूपमा निमन्त्रणा गरिने यसमा रसिया पनि सहमत हुने टर्कीका प्रधानमन्त्री मेभलुत क्याभुसोङ्लुले बताएका छन । कसैले पनि संयुक्त राज्य अमेरिकाको भूमिकालाई नदेखेको जस्तो गर्न नसकने उनले बताएका छन ।

तर सिरियाली राष्ट्रपति बसार अल असद समर्थक क्रेमलिनले भने क्याभुसोङ्लुको भनाईमा केही टिप्पणी गरेको छैन् । ‘म तत्काल यो विषयमा केही भन्न सक्दिन क्रेमलिनका उप प्रवक्ता दिमित्रि पेस्कोभले बताएका छन ।

सिरियामा सन् २०११ को मार्च महिनाबाट जारी जनआदोलन केही समयपछि गृहयुद्धमा परिणत भयो । सो गृहयुद्धमा आतङ्ककारी समूह इस्लामिक स्टेट (आईएस) र अल कायदा जस्ता आतङ्ककारी समूह हाबी हुँदै गयो । जारी यस युद्धमा परी सिरियामा तीन लाख १२ हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ ।

त्यसैगरी यस युद्धका कारण लाखौँ व्यक्ति घाइते भएका छन् । लाखौँले आफ्ना छिमेकी देशमा शरणार्थी जीवन यापन गर्नुपरेको छ ।