२९ साउन, काठमाडौं ।

सरकारले नयाँ मतपत्र छापेर भएपनि राष्ट्रिय जनता पार्टीलाई एउटा चुनाव चिन्ह दिन निर्वाचन आयोगलाई आग्रह गरेको छ ।

आज बालुवाटारमा राजपाका नेताहरु सहित सत्तारुढ दलका नेता र प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवबिच भएको छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवाले चूनाव चिन्ह दिन आग्रह गरेका थिए ।

छलफलमा निर्वाचन आयोगले भने राजपाले मागेको छाता चुनाव चिन्ह कानून संशोधन नभएसम्म दिन नसकिने बताएको छ । तर, एकता प्रक्रियामा आएका छ दल मध्ये एकको चुनाव चिन्ह दिन सकिने प्रमुख आयुक्त यादवले जानकारी दिए ।

प्रमुख आयुक्त यादवले भने यसबारे कानूनी लगायतको परामर्श गरेर भोलिसम्म जवाफ दिने बताए । राजपाले आफूहरुले एउटा चुनाव चिन्ह लिएपनि अरु पनि मतपत्रमा कायमै रहने र आफ्नो धेरै भोट बदर हुने बताएको छ ।

बैठकमा सत्तारुढ दलका नेताहरुले नयाँ मतपत्र छापेर एउटै चुनाव चिन्ह दिन आयोगलाई आग्रह गरेका छन् । बैठकमा राजपा नेताहरुले संबिधान संसोधन संसदबाट अघि बढाउने बिषयमा सत्तापक्षसंग जानकारी माग गरेको थियो । संसदबाट आगमी मंगलबार संसोधन बिद्ययेक अघि बढाउने सरकारको तयारी छ ।