३० असार, काठमाडौं ।

राप्रपा भित्र फेरी गम्भीर मतभेद देखिएको छ । पार्टी अध्यक्ष एवं संसदीय दलका नेता कमल थापाले बोलाएको संसदीय दलको बैठक १० जना सांसदले वहिस्कार गरेपछि फेरी असन्तुष्टि सतहमा आएको हो ।

अध्यक्ष थापाले राप्रपाका सबै ३७ जना सांसदले संविधान संसोधनका पक्षमा एकमतले मतदान गर्ने बताइरहेका बेला त्यही विषयमा छलफल गर्न बोलाइएको बैठक १० जना सांसदले वहिष्कार गरेका हुन् ।

यसअघि प्रचण्ड नेतृत्वको सरकारले एमाले विना पनि दुई तिहाई बहुमत पुर्याएर संविधान संसोधन गर्ने भनेकै दिन राप्रपाका १० जना सांसदले संसद बैठक वहिष्कार गरेका थिए । जसका कारण संविधान संसोधन विधयेक अहिलेसम्म अघि बढ्न सकेको छैन ।

रामकुमार सुब्बा, विराज विष्ट, रेशम लामा, रमेशकुमार तामाङ, सीता लुइँटेल, गीता सिंह, लक्ष्मी थापा पासवान, राज्यलक्ष्मी श्रेष्ठ र बविता लावती मोक्तान लगायतले संसद बैठक वहिष्कार गरेका थिए । यिनै सांसद अध्यक्षले बोलाएको संसदीय दलको बैठकमा पनि उपस्थित भएनन ।

उनीहरुले पार्टी अध्यक्ष थापाले पार्टीलाई एकढिक्का बनाएर लैजान सक्ने नसक्ने उनीमै निर्भर रहने बताएका छन् । थापाको मनोमानि चलिरहने हो भने पार्टी एक भएर जान नसक्ने चेतावनी समेत उनीहरुले दिएका छन ।

नेपाली हेडलाइन्ससँग कुरा गर्दै १० जना मध्येकी एक सांसद बविता मोत्तान लावतीले अध्यक्षले पार्टीलाई मिलाउन नसकेको बताइन । ‘राप्रपा प्राइभेट लिमिटेड होइन, लावतीले भनिन, सबैलाई मिलाएर लैजान सक्ने खुशी अध्यक्षमा हुनुपर्छ । मनोमानी पार्टीमा चल्दैन ।’

उनीहरुले आफूहरु संविधान संसोधनको पक्षमा नरहेको स्पष्ट पारेका छन् । यसअघिको पार्टीको बैठकमा अध्यक्ष थापाले हरेक बाक्य, पूर्ण विराम र कमा समेतमा गम्भीर छलफल गरेर मात्र पास गर्न सकिने बताए पनि त्यो अनुसारको काम नदेखिएको असन्तुष्टहरुको भनाई छ ।

अर्का सांसद विराज विष्टले अध्यक्ष थापाको मनोमानी रहिरहने हो भने एउटै पार्टीमा बस्न नसक्ने चेतावनी दिए । अध्यक्ष थापाले जे मन लाग्यो त्यही गर्ने, अरुको कुरा नसुन्ने प्रजातान्त्रिक अभ्यासको विकास नगर्ने र पार्टीलाई एकलौटी विर्ता ठान्ने प्रबृचि हावि हुँदै गए त्यसले गम्भीर परिणाम निम्त्याउने विष्टको चेतावनी छ ।

‘पार्ट पार्ट जोडिएर पार्टी बनेको हो, विष्टले भने, तर अहिले अध्यक्षलाई हाम्रो आवश्यकता महसुस भएको छैन । व्यक्तिगत र सैद्धान्तिक हिसावले धोकै धोका भएको छ । यो अवस्था धेरै दिन टिक्न टिक्दैन । यस्तै अवस्था रहे हामी छुट्टै समूह बनाएर नयाँ विकल्प खोज्न बाध्य हुनेछौं ।’

कमल थापाले गर्छन कि भनेर भर परे पनि धोका बाहे केही नपाएको उनको भनाई थियो । सुध्रने मौका दिन्छौं, नसुध्रे रामराम मात्र भनिन्छ, काँध थाप्न सकिन्न, विष्टले भने, ‘राप्रपा पार्टी पानीको फोका जस्तै भएको छ, फुट्नलाई एउटा सिन्को मात्र काँकी त्यो सिन्को को हुन सक्छ भनेर हामी खोज्दैछौं

यसअघि आज मात्रै विज्ञप्ती निकालेर राप्रपाका वरिष्ठ नता पशुपति शमशेर राणाले पार्टी अध्यक्ष थापाले मनोमानी गरेको भन्दै गम्भीर असन्तुष्टि जनाएका थिए ।