५ वैशाख, काठमाडौं । सत्तारुढ दल राष्ट्रिय प्रजातन्त्र पार्टीमा सरकारको समर्थन लिने विषयमा बहस उत्कर्षमा पुगेको छ । निर्वाचन आयोगले पार्टीको विधानमा समेटिएका हिन्दुराष्ट्र र राजसंस्थालाई हटाइदिएपछि आन्दोलनमा उत्रिएको राप्रपाको पार्टी नेतृत्वलाई सरकारको समर्थन फिर्ता लिन व्यापक दबाब आएको छ ।

यसैबिच, चुनावी अभियानका क्रममा काठमाडौं बाहिरका जिल्ला दौडाहामा रहेका उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री एवम राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले निर्वाचन आयोगको निर्णयविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् । उनले हिजो अपरान्ह ट्वीट गर्दै निर्वाचन आयोगले निर्णय नसच्चाएमा कठोर निर्णय गर्न बाध्य हुने धम्की दिएका छन् ।

उनले स्पष्ट कुरा नखुलाएपनि कठोर निर्णय भन्ने शब्दले धेरै संकेत गरेको छ । उनको ट्वीट पछि कतै राप्रपाले सरकारबाट बाहिरिएर गठबन्धन र सानादलसँगै आन्दोलनमा जाने त हैन भन्ने प्रश्न उब्जिएको छ ।

राप्रपा नेता राजाराम श्रेष्ठले अब साँच्चिकै कठोर निर्णय लिने बताए । नेपाली हेडलाइन्ससँग कुरा गर्दै श्रेष्ठले भने, ‘ आयोगको निर्णय एक दुइ दिन भित्रै नसच्चिए हामी कठोर निर्णय गर्दैछौं । सरकारबाट बाहिरिने संभावना प्रवल बनेको छ । ’

अध्यक्ष थापा काठमाडौं बाहिर रहेकाले पार्टी बैठक बस्न सकिरहेको छैन । मंगलबार दाङको तुल्सिपुर र बुधवार चितवनको कार्यक्रम सकेर थापा काठमाडौं फर्किनेछन् । ‘उहाँ फर्के लगत्तै हामीले निर्णय लिनेछौ,’ श्रेष्ठले भने, हामी निर्वाचनकै लागि सरकारमा गएका हौं तर निर्वाचन आयोगले नै हामी विरुद्ध षडयन्त्र गरेपछि हामी त्यहाँ बस्नुको औचित्य छैन ।

यता, निर्वाचन आयोगको निर्णय विरुद्ध राप्रपाले आज देशैभरका ७४४ वटै स्थानीय तहमा आज एक घण्टा धर्ना दिने र आयोगको निर्णयको प्रतिलिपी जलाउने कार्यक्रम गर्दैछ ।