२७ वैशाख, एजेन्सी।

इस्लामिक स्टेटले टाउको काटी हत्या गरेको भिडियो सार्वजनिक गरेको छ। रुसी गुप्तचरलाई सिरियामा पक्राउ पछि उनको हत्या गरिएको आइएसले भिडियो सार्वजनिक गर्दै बताएको मंगलबार एक अमेरिकी वेवसाइटले खबर छापेको छ।

आइएसको दाबी इन्कार गर्दै सिरियामा आफ्नो कुनैपनि गुप्तचर पक्राउ नपरेको रुसी रक्षा मन्त्रालयले बताएको छ।

सन् १९४५ मा नाजी जर्मनीमाथी विजय प्राप्त गरेको अवसरमा रुसले वार्षिकोत्सव मनाइरहेको दिनमा रुसी भाषामा सार्वजनिक भएको १२ मिनेटको भिडियोमा कालो जम्पसुटमा एक व्यक्तिलाई मरुभूमीमा घुँडा टेकाइएको छ। ती व्यक्तिले अन्य रुसी एजेन्टीहरुलाई पनि आत्मसमर्पण गर्न आग्रह गरेको भिडियमा सुन्न देखिन्छ।

यी मारिएका व्यक्ति कर्नेल एभगेनी पेट्रेन्को रहेको आशंका गरिएको छ। जो रसी फेडेरल सेक्युरिटी सर्भिस (FSB) का सेकेन्ड डिभिजनका क्याप्टेन हुन। रुसी गुप्तचर विभागका पेट्रेन्को रुसको मस्को निवासी हुन।

आइएसले पेट्रेन्कोलाई सेप्टेम्बरमा पक्राउ गरेको बताएको छ।

पेट्रेन्कोको टाउको काटी हत्या गरिएको बारे रुसी रक्षा मन्त्रालयले भने इन्कार गरेको छ। सिरियामा रहेका सबै रुसी सेना तथा अधिकारीहरु जिवितै रहेको मन्त्रालयले बताएको छ।

सन् २०१५ सेप्टेम्बरबाट सिरियामा अपरेशन सुरु गरेपश्चात त्यहाँ आफ्ना ३० अधिकारी मारिएको पनि रक्षा मन्त्रालयले बताएको छ।