२ मंसिर,बाजुरा । नेपाली काँग्रेसका सभापति एंव प्रधानमन्त्री शेरबहादुर देउवाले वाम गठबन्धनले जनताको अधिकारलाई रक्षा गर्न नसक्ने बताएका छन् ।

नेपाली काँग्रेस बाजुराको चुनावी आमसभालाई आज सम्बोधन गर्दै उनले भने– “लोकतन्त्रको रक्षा नभए जनताको अधिकार सकिन्छ, त्यसैले लोकतन्त्रको रक्षाका लागि काँग्रेसलाई जिताउनुपर्छ ।”

सभापति देउवाले काँग्रेस लोकन्त्रको रक्षाको गर्ने पार्टी भएकाले अवको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा काँग्रेसलाई जिताउन सबैमा आग्रह गर्दै आफू फेरि प्रधानमन्त्री भएपछि सुदूरपश्चिमको विकासका लागि लागिपर्ने प्रतिवद्धता व्यक्त गरे ।

थुप्रै सम्भावना बोकेको बाजुराको विकास र समृद्धिका लागि काँग्रेस बाहेकको विकल्प नभएको उल्लेख गर्दै उनले मार्तडी थामलेख सडक कालोपत्रे गर्ने बताए ।

प्रधानमन्त्री देउवाले प्रत्येक बाजुरावासीलाई उज्यालो बाजुरामा सहभागी गराउने र स्वास्थ्यको पहुँचमा पुर्याउने बताउँदै काँग्रेस नेतृत्वको वर्तमान सरकारले बाजुराको सडक, शिक्षा, स्वास्थ्य र विद्युत्लाई बढी प्रथामकिता दिएको छ भने।

सो अवसरमा काँग्रेसका केन्द्रीय सदस्य बद्रीप्रसाद पाण्डेले वाम गठबन्धनको बहुमत पुग्नु भनेको भ्यागुताले धार्नी उचाल्ने जस्तै भएको संज्ञा दिए।

वाम गठबन्धनले कुनै पनि हालतमा बहुमत ल्याउन नसक्ने उल्लेख गर्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा सेती लोकमार्ग र तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको पालामा कर्णाली करिडोर र साँफे मार्तडी पक्की बनाउन पहल भएको बताए ।

काँग्रेसका नेता अरुण प्रकाशसिंह राठोरले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन जनतम संग्रह भएकाले अव अधिनायक वादको अन्त्य गर्न बाजुरावासीलाई आग्रह गरे ।

प्रतिनिधिसभा सदस्यका उम्मेदवार कविराज पण्डितले बाजुराको विकासका लागि एक भएर लाग्ने बताउँदै अहिले वाम एकताले बाजुरामा कुनै प्रभाव नपारेको धारणा व्यक्त गरे ।

बाजुरामा भोकमरीको समस्या भएको हुँदा काँग्रेसले भोकमरी र बेरोजगारी अन्त्य गर्नेमा पनि उनले जोड दिए ।