२३ भदौ, काठमाडौं ।

लोकसेवा आयोगले लिँदै आएको नयाँ भर्ना नरोकिने भएको छ । सरकारले एक बर्षका लागि भर्ना नलिने गरी कर्मचारी समायोजन विधेयकमा ल्याएको प्रावधान हटाउन सरकार सहमत भएको हो ।

सिंहदरबारमा आज बसेको व्यबस्थापिका संसद अन्तर्गतको संसदको राज्य व्यबस्था समितिमा सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतले सांसदहरुको धारणा अनुसार विधेयकको सो प्रावधान फिर्ता लिन सहमति जनाएका हुन् ।

यसअघि बुधवार भएको सैद्धान्तिक छलफलमा लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीले नयाँ भर्ना रोक्दा लोक सेवा पढेर बसेका युवा पलायन हुने भन्दै नदीको प्रवाह रोक्न नहुँने बताएका थिए ।

मन्त्री बस्नेतले सांसदहरुको सुझाव सरकारले स्वीकार्ने र लोकसेवाको आवधिक भर्ना नरोकिने प्रतिबद्धता जनाए । बैठकमा अधिकांस सासंदहरुले लोकसेवा आयोगको भर्ना रोक्न नहुनेमा जोड दिएका थिए ।

लोकसेवा ऐन अनुसार कार्यतालिकामा हुने सबै काम नरोकि लोकसेवालाई नयाँ भर्ना खोल्न समितिले पनि सहमति जनाएको छ ।