२९ साउन, काठमाडौं ।

तराई क्षेत्रमा बाढी तथा डुबानको जोखिम थप बढेको जल तथा मौसम विज्ञान विभागको जल विज्ञान महाशाखा अन्तरगतको बाढी पूर्वानुमान शाखाले जनाएको छ ।

आज विशेष बाढी पूर्वानुमान बुलेटिन सार्वजनिक गर्दै बाढी पूर्वानुमान शाखाले कन्काई, रिउ खोला, पश्चिम राप्ती, पूर्वी राप्ती, बबई चेपाङ्ग लगायत अन्य बाढी मापन केन्द्रमा जलसतहले खतराको तह पारेको जनाएको छ ।

भोलीसम्मै बाढी आउन सक्ने भएकाले तटिय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ । तटिय क्षेत्रका नागरिकलाई एसएमएस मार्फत समेत सचेत गराइएको छ ।

बर्दियाको बबई नदिमा गएरातीदेखि पानीको सतह अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । पूर्वी राप्तीको रजैया र चितवनको माडी रिउखोलकामा रहेको बाढी मापन केन्द्रले पनि पानीको सतह खतराको तह पार गरेकाले जोखिम बढेको जनाएको छ ।

भोलीसम्ममा रौतहत, सर्लाही, मकवानपुर, बारा, पर्सा चितवन, नवलपरासी, रुपन्देही, कपिलबस्तुमा विभिन्न नदिका कारण अति उच्च जोखिम हुने देखिएकाले सावधानीका लागि अनुरोध गरिएको छ ।

दाङ्ग, बाँक,े बर्दिया, कञ्चनपुर, कैलाली लगायतका क्षेत्रमा पनि अति उच्च जोखिम हुने देखिएकाले सावधानी अप्नाउन आग्रह गरिएको बाढी पूर्वानुमान शाखाले जनाएको छ ।