२४ चैत, काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले संविधानसभाको निर्वाचन दशैपछि मात्र हुने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता सिटौलाले नागरिकता वितरण र मतदाता नामावली अद्यावधिक गर्ने कार्य सुरू पनि नभएकाले असारको पहिलो साता निर्वाचन हुने सम्भावना निकै कम रहेको बताएका छन् । नेता सिटौलाले भने, ’बाधा अडकाउ फुकाउ लगत्तै नागरिकता वितरण र मतदाता नामावली अद्यावधीक गर्ने कार्यलाई अभियानको रुपमा अघि बढाएको भए असार पहिलो साता निर्वाचन हुन सक्थ्यो । तर अहिलेसम्म त्यो कार्य सुरु हुन नसकेकोले निर्वाचन सर्ने अवस्था आएको हो ।’
पार्टीको सोमबारबाट नवलपरासीमा सुरू हुने महासमितिको बैठकमा केन्द्रीय कार्यसमितिको तर्फबाट कुनै पनि फरक मत प्रस्तुत नहुने दावी गरेका छन् । उनले कार्य समितिको तर्फबाट प्रस्तुत हुने प्रतिवेदनमा केही साथीहरूको विमती रहेको भन्ने शब्दावली समावेश गरिने स्पष्ट पारेका छन् । उनले भने, ’महासमितिको बैठकमा हामी एकताबद्ध रूपमा प्रस्तुत हुन्छौ । विवाद थन्क्याएर एक भएर जान्छौं ।’