१२ भदौ, वीरगन्ज।
प्रहरीको सुरक्षामा गएराति वीरगन्जबाट ५१९ यात्रुबाहक र मालबाहक वाहनहरू राजधानीलगायत विभिन्न स्थानका लागि पठाइएको छ ।
वीरगन्जबाट नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त सुरक्षामा ३८ वटा यात्रुबाहक बस, १६९ वटा मालबाहक ट्रक, ९४ वटा पेट्रोलियम पदार्थ बोकेका ट्याङ्कर, १८६ वटा कन्टेनर, १० वटा ग्यास बुलेट र चारपाङ्ग्रे साना गाडी गरी ५१९ वटा सवारी साधन पठाइएको पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज धिमिरेले बताउनुभयो ।
यसैबीच, सीमाङ्कनप्रति असन्तुष्टि जनाउँदै मधेस केन्द्रित दलहरूले गरेको अनिश्चितकालीन मधेस बन्दका कारण पर्साको जनजीवन कष्टकर बनेको छ । १५ दिनदेखिको लगातार बजार, पसल, कलकारखाना, शिक्षण संस्था, बैंक र वित्तीय संस्थाहरू बन्द हुँदा सर्वसाधारणलाई समस्या भएको छ । लामो समयदेखिको बन्द र हडतालका कारण वीरगन्ज–पथलैया औद्योगिक करिडोरमा झन्डै साढे आठ अर्ब रुपैयाँको क्षति भएको वीरगन्ज उद्योग वाणिज्य सङ्घले जनाएको छ ।
यो औद्योगिक करिडोरमा उद्योग, व्यापार, विद्युत्, टेलिफोन, शिक्षण संस्था, होटल व्यवसाय, कृषि क्षेत्र र श्रम बजारलगायतमा एक दिनमात्र बन्द हुँदा करिब रु ५६ करोड बराबरको नोक्सानी हुन्छ, वीरगन्ज उद्योग वाणिज्य संङ्घका अध्यक्ष प्रदीप केडियाले भन्नुभयो – “बन्दका कारण विगत १५ दिनदेखि यस क्षेत्रका सम्पूर्ण उद्योग व्यवसाय र यातायात ठप्प छन्, उद्योग व्यवसाय र यातायात ठप्प हु“दा यो क्षेत्रमा झन्डै साढे आठ अर्ब रुपैया“ घाटा भएको छ ।”
मुलुकमा स्वदेशी तथा विदेशी लगानीलाई प्रोत्साहित गर्न सार्वजनिक बन्द हडताललाई निरुत्साहित गर्न तथा औद्योगिक सुरक्षा सुनिश्चित गर्न उपयुक्त व्यावसायिक वातावरण सिर्जना गर्नुपर्ने विषय संविधानमा स्पष्ट रूपमा लेखिनुपर्ने तर्क अगाडि आइरहेका बेलामा यस्ता बन्द हडतालले लगानी भित्रिँदैन, यस क्षेत्रका उद्योगी व्यवसायीहरु भन्छन् – आर्थिक समृद्धिका लागि बन्द हड्ताल होइन, बरु उत्पादन वृद्धिका लागि निजी क्षेत्रको पुँजी, श्रम र उद्यमशीलताका साथै राज्यको लगानीमैत्री नीति आवश्यक भएको छ ।
पछिल्लो समयमा बन्द हड्ताल हुने क्रममा वृद्धि भएपछि यसको घाटा बढ्दो छ । विभिन्न समूह तथा पार्टीले सीमाङ्कनको बहानामा बन्द र हड्ताललाई एक मात्र हतियार बनाएपछि उद्योगहरु धरासायी हुन थालेका छन् । बन्दले आजित भएका उद्योगी व्यवसायीले वीरगन्ज–पथलैया औद्योगिक करिडोरलाई बन्द निषेधित क्षेत्र घोषणा गर्न मागसमेत गरेका छन् ।
सीमाङ्कनको बहानामा आज १५ दिनसम्म लगातार बन्द भइसक्यो, अझै कति दिनसम्म हुन्छ थाहा छैन, सङ्घका पूर्व अध्यक्ष एवम् उद्योगपति अशोक वैद्यले भन्नुभयो – “भोलि नामाङ्कन र प्रादेशिक राजधानीका लागि हुने आन्दोलनमा कति दिन बन्द हुने ? औद्योगिक क्षेत्रले अब धेरै बन्द थेग्न सक्दैन ।”
यो औद्योगिक क्षेत्रभित्र साना ठूला गरी हजारभन्दा बढी उद्योग छन् । बन्दका कारण १५ दिनदेखि उद्योग ठप्प छन् । बन्दले सबैभन्दा बढी दैनिक ज्यालादारीमा कार्यरत मजदुरहरु प्रभावित भएका छन् । यस क्षेत्रमा १९ हजारभन्दा बढी मजदुरले प्रत्यक्ष रोजगारी पाएको नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले जनाएको छ । रासस