२७ बैशाख, काठमाडौ ।
व्यवस्थापिका संसदको बैठक आज पनि बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा भूकम्प पीडितलाई राहत, पुनःस्थापना लगायतका विषयमा तयार पारिएको संकल्प प्रस्ताव माथि छलफल हुनेछ ।

मुख्य तीन दलका प्रमुख सचेतकको प्रस्ताव र संसदमा रहेका अन्य बाँकी दलहरुको समर्थनमा हिजो २७ बुँदे संकल्प प्रस्ताव प्रस्तुत गरिएको थियो । छलफलका लागि आज ८ र भोली ८ घण्टा गरी दलीय आधारमा १६ घण्टाको समय निर्धारण गरिएको सचिवालयका सहप्रवक्ता सुदर्शन कुँइकेलले जानकारी दिए ।

CA-Meeting

बोल्नका लागि भुकम्प प्रभावित जिल्लाका सभासदलाई प्राथमिकता दिइएको छ । गृहमन्त्री बामदेव गौतमले जवाफ दिएपछि भोली नै प्रस्ताव पारिन गरिने संसद सचिवालयले जनाएको छ । संकल्प प्रस्ताव पारित गर्न सात दिनको समय लाग्ने भएकाले हिजो नै नियम निलम्बन गरिएको थियो । कांग्रेस प्रमुख सचेतकले राखेको नियम निलम्बनको प्रस्तावमा एमाले र एकीकृत माओवादीले प्रमुख सचेकतले समर्थन जनाएका थिए ।

यसैबीच तराईका २० जिल्लाका सभासद्हरुको बैठक पनि बस्दैछ । राहत वितरणमा कसरी सहयोगी भूमिका खेल्न सकिन्छ भनेर छलफल गर्न २० जिल्लाका सबै पार्टीका सभासद् छलफलमा जुट्न लागेका हुन् । छलफलको व्यवस्थापन कांग्रेस धनुषाका सभासद् एवं भौतिक योजना तथा निर्माण मन्त्री बिमलेन्द्र निधिले गरेका हुन् । छलफल बेलुकी ४ बजे संविधानसभा भवन बानेश्वरमा रहेको लोत्से हलमा हुनेछ ।