६ भदौ, काठमाडौं । व्यवस्थापिका–संसद्बाट नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७३ को प्रस्ताव दुई तिहाइ मत नपुगी अस्वीकृत भएको छ ।

संसद्को आजको बैठकमा संविधान संशोधन प्रस्तावमाथि मत विभाजन गरिँदा संशोधनको पक्षमा आवश्यक दुई तिहाइ मत पुग्न सकेन । संशोधन विधेयक पारित हुन संसद्मा तत्काल कायम सदस्य सङ्ख्या ५९२ को दुई तिहाइ ३९५ मत हुनुपर्नेमा पक्षमा ३४७ र विपक्षमा २०६ मत परेको थियो । मतदानमा ५५३ सांसदले भाग लिनुभएको थियो । विधेयक पारित हुन ४८ मत पुग्न सकेन ।

कुन पक्षमा कति मत
संविधान संशोधन विधेयकका पक्षमा नेपाली काँग्रेसका ८२, राष्ट्रिय जनता पार्टीका २५, सङ्घीय समाजवादी फोरम नेपालका १५, नेपाल लोकतान्त्रिक फोरमका १३, नेकपा (संयुक्त)का तीन मत परेको थियो । अन्य केही साना दलले पनि पक्षमा मतदान गरेका थिए ।

संशोधन विधेयकका विपक्षमा नेकपा (एमाले) का १८०, राप्रपा(प्रजातान्त्रिक) का १९, नेपाल मजदुर किसान पार्टीका चार, नेपाल परिवार दलका दुई, राष्ट्रिय जनमोर्चाका तीन, मधेश समता पार्टी –बहुजन शक्ति र बौद्धिक जनतान्त्रिकका एक एक मत परेको थियो । नेकपा (माले)ले भने मतदान बहिष्कार गरेको थियो जसका पाँच सांसद छन् ।

मतदानमा को को भए अनुपस्थित 
कांग्रेस – गीता वाग्ले, कविताकुमारी सरदारसहित -५ जना
एमाले – राज्यलक्ष्मी गोल्छा, नेजमा आलम, बलबहादुर महत, दिनेश यादवसहित – ६ जना
राप्रपा (प्रजातान्त्रिक) – आनन्दीदेवी पन्त, इस्तिहाक अहमद खान, गीता सिंह, दीपक बोहरा, विक्रम पाण्डे, रमेशकुमार लामा, राज्यलक्ष्मी श्रेष्ठ (नुवाकोट), लक्ष्मी थापा पासवान, सरोज शर्मा, सुनलीबहादुर थापा, सीता लुइँटेल ज्ञवाली, शयन्द्र वान्तवा, विराज बिष्ट, वविना मोक्तान लावती, रेशमबहादुर लामा, रामकुमार सुब्बा धानो महरा सिरहा, कमलदादलेवी शर्मा -१८
माओवादी केन्द्र -रविन्द्रप्रताप शाह, योगेन्द्रमान घिसिङ र कृष्ण धिताल- ३ जना
बहिष्कार माले -५, परिवार दल -२
जम्मा ४८ जना अनुपस्थित