दीपक पौडेल/बोमलाल गिरी
युरोप

पछिल्लो सयम निक्कै सफल मानिएको चलचित्र छक्का पञ्जाको प्रर्दशनसँगै नेपाली चलचित्र बजारमा पाइरेसीको चर्चा चुलिएको छ । यसअघि भुवन केसीको सफल मानिएको चलचित्र ड्रिम्स पनि पाइरेसीको मारमा परेको थियो । जसले गर्दा निर्माताका ओठ तालु सुकेका छन् । तर यसको प्रमुख जिम्मेवार को हो त ? गम्भीर भएर सोच्नु पर्ने बेला भएको छ । देश विदेशका हलहरुमा छक्का पञ्जा चलिरहेको बेला यसको पाइरेसी भयो । जसले गर्दा आशा गरिए अनुसारको दाम हात पर्न सकेन ।

पाइरेसीका कारणहरु
नेपाली समाजमा चलचित्र निर्माणसँगै त्यसको बजार पहिले नै तय भइसकेको हुन्छ । चाहे त्यो साँच्चीकै राम्रो भएर होस् वा विज्ञापन गरेर । जुन चलचित्र उत्कृष्ट मानिन्छन्, सबैको ध्यान त्यतै तिर जान्छ र पाइरेसीको सम्भावना पनि त्यही हुन्छ । चलचित्र हेर्न आतुर नेपाली मनहरुलाई निक्कै लामो समयसम्म कुराउने प्रबृति हावी हुँदै गएको छ । त्यो राम्रो भएमा चर्चैचर्चाले अझै बढि चल्छ भनेर हो वा अन्य कुनै कारण छन् ? त्यो निर्माताहरु नै जानून । तर चलचित्र निर्माणको काम सकिएर प्रदर्शनको तयारीमा हुँदा सबै तिर एकै चोटी प्रदर्शन गर्न नसक्नु पाइरेसीको प्रमुख कारण हो ।

movie-chhakka-panja

नेपालीपनका चलचित्र हेर्न नेपालमै भएकाभन्दा विदेशमा रहेका नेपाली मनहरु बढी छटपटाएका हुन्छन् । तर त्यहाँ नेपाली चलचित्रको अन्तराष्ट्रियकरण र प्रदर्शनमा समस्या छ । नेपाली निर्माता र प्रर्दशनका लागि अनुमति लिएका अन्तराष्ट्रिय प्रदर्शनकर्ताबीचको समन्यको अभावमा नेपाली चलचित्रको अन्तराष्ट्रियकरण हुन सकेको छैन । त्यसको मुख्य कारण आर्थिक सम्भौता मिलाउन नसक्नु नै देखिन्छ । जस्ले गर्दा ‘लोभले लाभ, लाभले विलाप’ भने जस्तै सम्भावित आशा गरिएको रकम पनि डुब्दै गएको देखिन्छ ।

धेरै लगानीमा बनेका गुणस्तरिय चलचित्रलाई सामाान्य प्रोजेक्टर मार्फत सामान्य रेष्टुरेण्ट र सभाहलमा पनि देखाउन सकिने भएकाले पाइरेसीको डर त्यत्तिकै हुन्छ भने गुणस्तर खस्किदै जाँदा चलचित्र प्रति दर्शकको मोह घट्दै जान्छ । त्यसैले नेपाली चलचित्रलाई अन्तराष्ट्रियकरण गर्न सक्नु पर्छ ।

अन्तराष्ट्रियकरणका फाइदाहरु
नेपाल सरकार र यसका संयन्त्रहरु, चलचित्र वितरक तथा हल सञ्चालक र विज्ञापनका लागि तिर्ने रकमलाई कटाएर निर्माताले नेपालमा एउटा चलचित्रको प्रदर्शनबाट उठेको रकमको २७ देखि ३२ प्रतिशत मात्र हात पार्छ । जवकी अन्तराष्ट्रिय स्तरमा चलचित्र प्रदर्शन गर्दा त्यो ठूलो रकमको कर बचत हुन्छ । जुन निर्माता र अन्तराष्ट्रिय प्रदर्शकको हातमा पर्छ । एकैचोटी चलचित्र प्रर्दशन गर्न सकेमा इच्छुक दर्शकले एकैचोटी हेर्न पाउने भएकाले पाइरेसीको सम्भावना निक्कै कम हुन्छ । त्यतिञ्जेल निर्माताले लगभग आफ्नो लगानी उठाउन सफल भइसकेको हुन्छ ।

bhuwan-son

रामबाबु गुरुङको कवड्डीले विदेशबाट राम्रै दाम हात पार्न सफल भयो । दीपकराज गिरीको चलचित्र छ एकान छले विदेशमा भएको प्रर्दशनबाट मात्र ५० लाखभन्दा बढी खुद नाफा कमाउन सफल भयो । तर त्यही युनिटले निर्माण गरेको चलचित्र वडा नम्बर ६ त्यही अनुपातमा विदेशमा प्रदर्शन हुन सकेन । चलचित्र उत्कृष्ट नभएर हो वा हिसाव किताव नमिलेर त्यो निर्माणपक्षले नै जानुस् । छ एकान छ जस्तै छक्का पञ्जालाई पनि युरोपमा प्रर्दशनको तयारी गरिएको थियो । निर्माता दिपक राज गिरी र निर्देशक दिपाश्री निरौला चलचित्र प्रर्दशनका लागि भन्दै यतिबेला युरोपमा छन् । प्रदर्शनको मिति र स्थान तय भइसकेको अवस्थामा चलचित्र पाइरेसी भयो । जसले गर्दा चलचित्र उद्योगले धेरै रकम विदेशबाट गुमाउनु पर्नेछ ।

छक्का पञ्जा र ड्रिम्स केही उदाहरण मात्र हुन् । निश्चल बस्नेतको लुटबाट शुरु भएको अन्तराष्ट्रिय प्रर्दशनले पछिल्लो समय राम्रो आम्दानी गर्न सकेको छैन । नेपालमा उत्कृष्ट व्यापार गर्न सफल भएका चलचित्रले पनि निर्माता र अन्तराष्ट्रिय प्रदर्शनक बीच समयमा सम्झौता हुन नसक्दा ठूलो घाटा बेहोर्नु परेको छ । कृष्ण धरावासीको झोला, विकास आचार्यको नाइ नभन्नु लहरु, एस कुमारको बाटो मुनिको फूल २, भुवन केसीको ड्रिम्स, सुदर्शन थापाको प्रेम गीत, दीपेन्द्र के खनालको पशुपति प्रसाद आदी चलचित्र राम्रो हुँदा हुँदै पनि अन्तराष्ट्रिय बजारबाट आम्दानी भित्र्याउन नसक्ने चलचित्रमा गनिन्छन् ।

नेपालमा राम्रो छवि बनाएका छविराज ओझा प्रोडक्सन, रेखा फिल्म्स प्रोडक्सन, गोपिकृष्ण मुभिज, केशव भट्टराई प्रोडक्सन लगायत चलेका प्रोडक्सन हाउसका चलचित्रले नेपालमा केही सफलता हात पार्न सफल भए पनि अन्तराष्ट्रिय स्तरमा बजार लिन सकेनन् ।

तर नीजि पहल र अन्तराष्ट्रिय संघ संस्थाको सहयोगमा केही चलचित्रले विदेशबाट केही रकम हात पार्न सफल भए । भुवन केसीको करोडपति, आकाश अधिकारको काठमाण्डौ, शंकर घिमिरेको तुलसी, नवल खड्काको दशगजा, यश कुमारको बाटोमुनिको फूल, राजेश घतानीको बितेका पल, सुरज सुब्बा नाल्बो र विल्सन विक्रम राईको रातो घर, श्याम श्रेष्ठको नमस्ते नेपाल, झरना थापाको फेसबुक, ध्रुवदत्त अभिनित तीन घुम्ती, पदम गुरुङ र सहदेव गौतमको फन्को, तेजेन्द्र कँडेलको दिलमा सजायँ तिमीलाई, दीपक सुवेदीको राजनीति आदिलाई नीजि पहलमा अन्तराष्ट्रिय समुदायमाझ पुर्याउन सफल चलचित्र मानिन्छन् ।

पाइरेसी नियन्त्रणका उपायहरु
पाइरेसीका कारण बन्न लागेका धेरै उत्कृष्ट चलचित्र गर्भमै तुहिने छन् । चलचित्र कुन ठाउँमा प्रदर्शन गरिएको र आधिकारिक अनुमति कस्लाई दिइएको भन्ने कोर्डको प्रयोग गर्न मात्र सक्ने हो भने पनि धेरै हदसम्म पाइरेसी नियन्त्रण हुन सक्छ । त्यसो गर्न सकेमा पाइरेसी गर्ने व्यक्तिलाई सहजै कारवाहीको दायरामा ल्याउन सकिन्छ । सिनेमा घर तथा चलचित्र प्रदर्शन भएको स्थलमा डिजिटल क्यामरा वा रेकर्ड गर्न मिल्ने यन्त्रमा प्रतिवन्ध लगाउनु पर्छ । विदेशी प्रदर्शकले चलचित्र प्रदर्शनका लागि नेपालमै सम्झौता गरेर विदेशमा प्रदर्शन गर्दा आउन सक्ने कानूनी समस्या सहज हुन सक्छ । अनि निर्माता, अन्तराष्ट्रिय प्रदर्शक तथा चलचित्र परिवार मध्ये कसैले आफैले चलचित्र लिएर अन्तराष्ट्रिय बजारसम्म पुग्न सक्दा पनि पाइरेसी हुने सम्भावना कम हुने थियो ।

राम्रो र उत्कृष्ट चलचित्रको मात्र पाइरेसीको डर हो । सामान्य चलचित्रलाई पाइरेसीको डर त्यति हुँदैन । पाइरेसी नेपाल भित्र वा अन्तराष्ट्रिय स्तरमा जहाँ भए पनि कानूनी कारवाहीका लागि सम्बन्धित निकाय चनाखो हुन आवश्यक छ । एउटा सिंगै उद्योगलाई नै धरापमा पार्ने प्रमुख तत्व पाइरेसी भएकाले आवश्यक कानून र व्यवस्थित र प्रभावकारी संयन्त्रको आवश्यकता छ । त्यसका लागि निर्माता, चलचित्र वितरक, नेपाल सरकार, नेपाल चलचित्र बोर्ड र चलचित्र उद्योगसँग सम्बन्धित सम्पूर्ण चलचित्रकर्मीको ध्यान जान जरुरी छ ।

यो पनि पढ्नुस्
सबैभन्दा ठूलो पाइरेसी नेटवर्कका संस्थापक समातिए
‘छक्का पञ्जा’ शेयर गर्दा ज्यान गयो !
नेपाली चलचित्रमा नयाँ रेकर्ड, ‘छक्का पञ्जा’ को ५१ औ दिन
दिपकराज गिरीले भावुक हुँदै भने–हामी मर्माहत छौं